नागी गाउँ हाक्ने गेममायाँ हल नं ९ मा भेटिईन् (Video)

अन्नपूर्ण गाउँपालिका वडा नं ८ की वडा सदस्य गेममायाँ पुनले गाउँका दर्जन सामाजिक तथा विकासे योजनामा नेतृत्व गरेकी छन् । गाउँमा चुल्होचौकी, घाँसदाउरा लगाएत पुरुषको नेतृत्वमा हुने गतिविधिमा नाम मात्रैको प्रतिनिधिको रुपमा सहभागी हुने नागीका महिलालाई आर्थिक रुपमा आत्निर्भर बनाउँदै लघु उद्यमी समुहमार्फत हस्तकला सहित विभिन्न साम्रागीको उत्पादन आत्मनिर्भर बनाउन पुनले नेतृत्वदायी भूमिका खेलिन् ।

नागीकी अगुवा समेत रहेकी पुनले घरायसी कामसंगै महिलालाई समुदायमा पनि जिम्मेबारी पद सम्हाल्न सकिन्छ भन्ने उदाहरण बन्दै खानेपानी उपभोक्ता समितिको अध्यक्ष, सामुदायिक लजको कोषाध्यक्ष, स्थानीय आमा समुह, लघु उद्यमी समुह सहित गाउँका सामाजिक संघसंस्थामा नेतृत्व सहित सम्मानजनक प्रतिनिधित्व गरेकी छन् । केहीबर्ष अगाडीसम्म आर्थिक रुपमा पुरुषको भर पर्नुपर्ने अवस्थामा महिलाले नै विकल्पहरु खोज्न सक्छन भन्ने उदाहारण बनेकी पुनले लाखौंका योजना सहित विभिन्न संघसंस्था हाक्ने क्रममा सक्षमता प्रस्तुत गरेपनि शैक्षिक योग्यता नहुदाँ बेलाबेलामा अबसरबाट बन्चित हुनुपर्ने अवस्थामा निरास हुने गरेकी थिईन् ।

हजारदेखि लाखौंसम्मका योजनाको अध्यक्षको जिम्मेबारी, आर्थिक हिसावकिताव राख्नुपर्ने कोषाध्यक्षको पदलाई शैक्षिक योग्यताको अभावमा शिक्षितबाटै सहयोग माग्नुपर्ने अवस्थालाई तोड्न गेममायाँले आइतबारदेखि सुरु भएकोे एसइई परिक्षामा खुल्ला विद्यालयबाट सहभागी छन् ।सदरमुकाम बेनीस्थित बेनी सामुदायिक मावि केन्द्रमा वडा अध्यक्ष खम बहादुर गर्बुजा, वडा सदस्य देवकुमारी पुन, महिला स्वास्थ्य स्वयेमसेविका सहित परिक्षामा सहभागी भएकी पुनले शैक्षिक योग्यताको आवश्यकता महसुस भएको बताईन् ।

‘शैक्षिक योग्यता पनि चाहिन्छ,‘सानैमा विवाह भएपछि रोकिएको पढाईलाई निरन्तरता दिने प्रयासमा छु’ उनले भनिन् । १७ बर्षको उमेरमा विवाह गरेकी पुनले आर्थिक, सामाजिक तथा राजनीतिक नेतृत्वमा पुग्न शिक्षाको समेत महत्वपूर्ण भूमिका हुने बताईन् । ‘एसइईपछि पनि शिक्षालाई निरन्तरता दिने चाहना छ,‘आफ्नो परिचय दिदाँ सामान्य लेखपढ भन्ने अवस्थालाई तोड्न चाहन्छु’ पुनले भनिन् । परिक्षाको तयारीमा हिमाञ्चल माविका प्रधानध्यापक रमन पुन सहित शिक्षकको सहयोग, ब्यक्तिगत मेहनत र आत्मविश्वास लिएर परिक्षा केन्द्रमा आएको पुनले बताईन् ।

पुनसंगै परिक्षा केन्द्रमा आएकी महिला सदस्य देवकुमारी पुनले समेत शिक्षाको आवश्यकता खड्कीएको बताईन् । उनले रहर भन्दा पनि आवश्यकताका कारण परिक्षा केन्द्रमा आएको बताउँदै मेहनतलाई सफलतामा परिणत गर्ने गरी तयारी साथ परिक्षामा सहभागी भएको बताउँदै गाउँमा सामान्य लेखपढ भएका महिलालाई समेत हौसला प्रदान गर्ने बताईन् । वडा सदस्य पुनले महिलालाई शिक्षाबाट बन्चित हुनुपर्ने अवस्थाको अन्त्य गदैं गाउँमा निरक्षर महिलालाई समेत साक्षर बनाउँदै कम्तिमा पनि माध्यामिक तहसम्मको शिक्षाका लागी अभियानको आवश्यकता रहेको बताईन् ।