जलजला गाउँपालिका २ बगरफाँटकी क्यान्सर पिडित कमला विश्वकर्माको उपचारका लागि सहयोग जुटाउन बगरफाँटमा शनिबार घरदैलो गरिएको छ । ४० वर्षीय विकको परिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या देखिएपछि बगरफाँटका बासिन्दाहरुले घरदैलो गरेर करिब एक लाख रुपैयाँ सहयोग जुटाएका हुन् ।

जलजला–३ का वडा अध्यक्ष देवेन्द्र भण्डारी (रवी)ले जनप्रतिनिधिको हैसियतमा सरकारबाट पाएको तलव वापतको दश हजार रुपैयाँ प्रदान गरेर घरदैलो सुरुवात गर्नुभएको थियो । फरक वडाको भएपनि विक परिवारलाई परेको पिडा कम गर्न थोरै भएपनि सहयोग गरेको वडा अध्यक्ष भण्डारीले बताउनुभयो । जलजला गाउँपालिकाको २ र ३ नम्बर वडामा अध्यक्ष भण्डारीको नेतृत्वमा गरिएको घरदैलोका क्रममा ९० हजार रुपैयाँ सहयोग संकलन भएको छ ।

पर्वत बेनीमा पनि घरदैलो गरेर सहयोग जुटाउने र गाउँपालिकाबाट पनि उपचारका लागि सहयोगको व्यवस्था मिलाउन पहल गर्ने वडा अध्यक्ष भण्डारीले बताउनुभयो । विकका श्रीमान रोजगारीको लागि विदेशमा हुनुहुन्छ । विकका दुई छोरा र दुई छोरी छन् । उनिहरु सुकुम्बासी हुन् । विकको भरतपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । उपचारका लागि पाँच लाख रुपैयाँ भन्दा बढी खर्च भइसकेको र थप त्यतीनै रकम आवश्यक पर्ने परिवारका सदस्यहरुले बताएका छन् । सन्तोष गौतम