हिउँ हटाएपछि बल्ल खुल्यो गूर्जा जोड्ने बाटो (फोटो फिचर)

हिमपातका कारण करिब दुई महिना ठप्प रहेको गूर्जा जोड्ने पदैलमार्ग स्थानीयको प्रयासपछि खुलेको छ । धवलागिरी गाउँपालिका वडा नं २ लुलाङ, देउराली, लट्बाङ हुदैं गूर्जा पुग्ने पदैलमार्गमा करिब २ फिट हिउँ जमेको कारण पैदलयात्री, खाद्यान्न ढुवानी गर्ने खच्चड आवतजावत गर्न समस्या भएको थियो।

स्थानीयको प्रयासमा दुईदिनसम्म जनश्रमान गरी बाटोमा जमेको हिउँ पन्छाइएको गाउँपालिका प्रबक्ता एवम् गूर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताए । ‘पदैलमार्ग अव कुनै समस्या छैन्,‘बालबालिकालाई आवतजावतमा अझै जोखिम नै छ’ छन्त्यालले बेनीअनलाइनलाई भने।

गत फागुन १४ र १५ गते परेको बर्षासंगैको हिमपातले गुर्जा जोड्ने प्रमुख मार्ग हिमपातकै कारण बन्द भएको थियो। लुलाङ र गूर्जाको सिमाना पर्ने देउरालीमा करिव चार फिट हिम जमेपछि स्थानीयले बैकल्पिक मार्ग बनाएपनि आवतजावतमा जोखिम भएपछि केही समय बन्द गरिएको थियो ।पदमार्ग सरसफाई गरिएपछि मुनाबाट खच्चडमा खाद्यान्न बोकेर गाउँमा पुगेको छ भने गाउँबाट बिहिबार र शुक्रबार लगातार स्थानीय आवतजावत गरेका छन् । देउराली गूर्जा गाउँ जोड्ने घना जंगल हो ।

चट्टानजस्तै हिउँ नपग्लिदाँ गूर्जाबाट गाउँपालिकाको केन्द्र हुदै सदरमुकाम बेनी आउने स्थानीयले गूर्जाबाट मुदीको अर्चे हुदै मुदी गाउँबाट मुना तर्फ जाने गरेपनि अत्यन्त जोखिमपूर्ण भएकाले समस्या भएको थियो । गुर्जाबाट मुदीको अर्च हुदै आउने बाटो जोखिमपूर्ण छ ।छिमेकी बागलुङ र रुकुम जिल्लाबाट समेत गूर्जा जोड्ने मार्गमा हिमपात भएपनि सोही मार्गबाट खाद्यान्न सहितका अति आवश्यक साम्रागी ल्याउन समस्या भएपछि स्थानीयले लगातारको हिमपातका कारण निकै जोखिम मोल्नुपरेको थियो । गूर्जामा एउटै बस्तीमा करिव ३ सय घरधुरी छन् ।