यूएईमा सम्पन्न स्पेसल ओलम्पिकमा म्याग्दीका सागर शेरचनले पदक जिते

युएइमा भएको स्पेसल ओलम्पिक समर वल्र्ड गेम्समा म्याग्दीका सागर शेरचनले कास्य पदक जितेका छन् । मार्च १४ देखि २१ तारिखसम्म भएको फरक क्षमता भएका व्यक्तिको गेम्समा पश्चिम म्याग्दीको दरबाङका शेरचनले सटपुटमा कास्य पदक जितेको स्पेसल ओलम्पिकको कोषाध्यक्ष चित्र केसीले बेनीअनलाइनलाई बताए ।उनका अनुसार म्याग्दी घर भई हाल पोखरामा बस्ने शेरचनको खेल उत्कृष्ट रहेपनि केही प्राविधिक कमजोरीले कास्य पदकमा चित्त बुझाउनुपरेको बताए ।

प्रतियोगितामा नेपालले एथलेटिक्स, बोसी र फुटसलमा सहभागिता जनाएको थियो । नेपालले एथलेटिक्समा १ स्वर्ण र २ कांस्य तथा बोसीमा १ रजत हात पारेको थियो । ३ सपाङ र ५ फरक क्षमता भएका व्यक्तिको पुरुष फाइभ ए साइड युनिफाइड फुटसलमा नेपालले रजत जित्यो । एथलेटिक्सको पुरुष सटपुटमा अजय तामाङले स्वर्ण जितेका थिए ।

त्यस्तै महिला लङजम्पमा एलिसा न्यौपानेले कांस्य जितिन् । महिला बोसीमा महिमा कोइरालले नेपाललाई रजत दिलाइन् ।फुटसल टोलीमा अनिश कार्की, महेन्द्र कार्की, इश्वर लिम्बू, इसान श्रेष्ठ, धनबहादुर क्षेत्री, अदेश काफ्ले, अदित वज्राचार्य र क्षितिज बानियाँ थिए ।गेम्समा १ सय ९० भन्दा बढी राष्ट्रको सहभागिता रहेको थियो । स्पेसल ओलम्पिकमा नेपालले पहिलो पटक स्वर्ण सहितका पदक जितेको थियो । प्रतियोगितामा सहभागी हुन खेलाडीहरुले ब्यक्तिगत खर्च गरेका थिए ,।