अनुदान पाउन फलामको चिउरा चपाएसरह

भुकम्पबाट पूर्णरुपमा घर क्षती भएपछि पीडितको सूचीमा रहेका बेनी नगरपालिका वडा नं ६ का तप्त बहादुर भण्डारीले घर निर्माण सके पनि पहिलो किस्ता वापत ५० हजार रुपैयाँभन्दा थप अनुदान पाएका छैनन् । २०७२ वैशाख १२ गतेको भूकम्पले भत्काएपछि प्राधिकरणले खटाएको प्राविधिकको टोलीले पूर्ण क्षती भएको पुष्टी गदैं पहिलो किस्ता उपलब्ध गराएपछि मापदण्ड अनुसार नै घर बनाउन भण्डारीले चर्को ब्याजदरमा ऋण लिएपनि दोस्रो, तेस्रो किस्ताका पाउन पलामको चिउरा चपाएजस्तै भएको छ ।

घर भत्किएकाको नाम प्रवलिकरणको सूचिमा, ५० हजार अनुदान बाँकी ५ लाख ऋण

भण्डारीजस्तै सोही गाउँका तुल बहादुर भण्डारी, नारायण जैशी, श्रीबहादुर खत्री जस्ता धेरैलाई प्राधिकरणका कर्मचारीको लापरवाहीका कारण अनुदानका लागि सास्ती खेप्नुपरेको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले निजी आवास बनाउन एक वर्षअघि नै पहिलो किस्ता वापत ५० हजार जिल्ला आयोजना कार्यान्वयन इकाईले दिएपछि निर्माणकार्य सुरु गरेका पीडितले करिव ६ लाखको लागतमा घर सम्पन्न गरेपनि नक्कली भूकम्प पीडित भन्दै उजुरी दिएपछि प्रवलीकरणको सूचीमा राखिएपछि पीडितले आक्रोश पोखेका छन्।

’प्राविधिकहरुको टोलीले पुर्ण क्षती भएको घरको सूचिमा राखेपछि काम गरियो,‘ऋणमा घर बनाएपछि सूचीबाट हटाइएको छ’ नारायण जैशीले भने । उनले घरदैलोमै आएर भूकम्पले भत्किएको घरको तथ्याङ्क संकलन गरी गएका प्राविधिकको विवरणलाई समेत केही ब्यक्तिको प्रभावमा परेर तोडमोड गरिएको गुनासो गरे । पूर्ण प्रभावितको सूचीबाट प्रबलिकरणको लागिमात्र योग्य भनि आएपछि पीडितले अस्वीकार गरेका छन्

।‘राहतको नाममा हामीलाई ऋणमा डुवाउने खेल भएको छ,’नयाँ संरचना बनाइसकेपछि पीडितलाई थप पीडा दिने प्रयास भएको छ’ तुलबहादुर भण्डारीले भने । भत्किएको घर मर्मत गरी बस्न मिल्ने (प्रबलिकरण) भनेर थप ५० हजारमात्रै दिन मिल्ने भन्ने जानकारी आएपछि जिल्लाभित्रका पूर्ण भूकम्प पीडितको रुपमा नयाँ संरचना बनाएका पीडितले पुनः स्थलगत रुपमा आएर विवरण लिन माग गरेका छन् ।

सहरबजारमा पक्की घर, राजनीतिक दलको पहुँचमा सूचीमा परेकाले धमाधम किस्ता पाउँदा समेत ग्रामिण क्षेत्रमा भएका पीडितले घर सम्पन्न भएपनि दोस्रो किस्ताका लागि ठूलै यूद्ध लड्नुपरेजस्तै भएको गुनासो गरेका छन् । लाभग्राहीको सुचिमा नाम आएपछि प्राप्त हुने तीनलाखले सानो पक्की घरमा बस्न थालेका पीडितले ऋण तिर्न बैदेशिक रोजगारमा जानुपर्ने बाध्यता बन्दै गएको गुनासो गरेका छन् । पूर्ण भूकम्प पीडितको सूचीमा रहेका ७ जनाको नाम प्रबलिकरणमा परेको छ ।

राजनीतिक र प्रशासनिक पहुँचका आधारमा भुकम्प पिडितको सूचीमा नाम दर्ता गराएर अनुदानको दुरुपयोगलाई रोक्न नसक्ने प्राधिकरणले गरिब जनतालाई अनुदानको लोभमा ऋणमा डुवाएको बताउँदै पहिलो किस्तालाई फिर्ता गर्ने गरी केहीले आर्थिक जुटाइरहको समेत बताएका छन् । बेनी नगरपालिकाका वडा अध्यक्ष कृष्णबहादुर बानियाँले प्राधिकरणका प्राविधिकले हचुवामा तथ्याङ्क संकलन गर्दा बास्तविक पीडितलाई समस्या परेको बताए ।

‘तथ्याङ्क संकलनमा गम्भीर लापरवाही भएको छ, केही पहुँचवालाले गर्दा बास्तविक पीडितले सास्ती खेप्नुपरेको छ’ बानियाँले भने । उनले आफ्नो वडाभित्रका पीडितको विवरण अनुसार नै राहत पाउनु्पर्नेमा पूननिर्माणपछि अनुदान दिन आनकानी गर्नुले पीडितमा आक्रोश चुलिएको बताए । सदरमुकाम बेनीमा बसेर प्राविधिकले स्थलगत रुपमै नपुगी केही ब्यक्तिको प्रभावमा परेर तथ्याङ्क संकलन गरेको कारण म्याग्दीमा नक्कली भुकम्प पीडितका कारण वास्तविक पीडितलाई राहतबाट बन्चित बनाइएको बताइएको थियो ।

आंशिक क्षति भएर पनि पूर्ण क्षतिको फारम भरेका र अन्य ठाउँमा घर भएकाहरुले पनि अनुदान लगेको भन्दै प्राधिकरण, जिल्ला प्रशासन कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेकाले पनि समस्या भएको प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाईले शिवराम गेलालले बताए ।‘किस्ता आउन ढिलाई भएको थियो, अहिले नियमित गरिएको छ’ गेलालले भने । उनले पुनः गुनासो दर्ता गरेका पीडितको घरदैलोमा जाने कार्यक्रम रहेकाले पनि प्रवलिकरणमा परेकालाई थप राहत आउन पनि सक्ने बताए । उनले केहीसमय किस्ता रोकिएको स्वीकार गदैं नक्कली भूकम्प पीडितका कारण पूननिर्माणको कार्यले गति नलिएको बताए ।

म्याग्दीमा ७८४ जनालाई भूकम्प पीडित रहेकोमा ५० हजार रुपैयाँका दरले प्रथम किस्ता अनुदान उपलब्ध गराएकोमा हालसम्म दोस्रो किस्ता लैजाने ३६१ र निजी आवास पुननिर्माण सकेर तेस्रो किस्ता लिने पीडितको संख्या २१४ जना रहेका छन् । ३६१ जनाले दोस्रो किस्ता लिएपनि आधाभन्दा बढी पीडित पहिलो किस्ता लगेपछि सम्र्पकमै आएका छैनन्। नक्कली भूकम्प पीडितको सूचीमा रहेका अधिकांस दलिय पहुचवाला रहेका छन् । २०७३ पुसमा इन्जिनियरहरु परिचालन गरेर एक हजार ३५० घर सर्वेक्षण गरिएपनि ८६८ जना लाभग्राही पहिचान भएका थिए।

घर बनाइसकेपछि प्रवलिकरणको सूचीमा परेका बेनपा ६ का तप्तबहादुरका दम्पत्ती । उनीहरुले घर भत्किएपछि पहिलो किस्तावापत ५० हजारमात्रै प्राप्त गरेका छन् । तस्वीर हरिकृष्ण गौतम