हिमालको काख लोमान्थाङमा विश्वमै दुर्लभ प्याराग्लाइडिङको परीक्षण उडान सफल

हिमालपारीको जिल्ला मुस्ताङको लोमान्थाङमा विश्वमै दुर्लभ देखिने हिमाल माथि प्याराग्लाइडिङको परीक्षण उडान सफल भएको छ । साहसिक खेल प्याराग्लाइडिङको सम्भाव्यता अध्ययनका लागि लोमान्थाङ पुगेको स्याङ्जास्थित बाबु एडभेन्चर क्लबको टोलीले ३ दिनसम्म परीक्षण उडान गरेको हो ।

टोलीले लोमान्थाङ–१ र ४ का ६ स्थानमा परीक्षण उडान गरेको क्लबका अध्यक्ष कृष्णजंग केसीले जानकारी दिए । परीक्षणमा अध्यक्ष केसी, प्याराग्लाइडिङका विश्व कीर्तिमानी सानुबाबु सुनुवार र कृष्ण केसी सहभागी थिए । ती स्थान प्याराग्लाइडिङका लागि उपयुक्त रहेको निष्कर्ष निकालिएको अध्यक्ष केसीले जानकारी दिए । ‘मुस्ताङ आफैमा विश्वभर परिचित पर्यटकीय स्थल हो ।

त्यसमाथि प्याराग्लाइडिङ मार्फत हिमालमाथि उड्न पाउनु विश्वमै दुर्लभ अवसर हो,’ उनले भने, ‘यसबाट मुस्ताङको पर्यटनमा नयाँ आयाम थपिने विश्वास छ ।’अर्का सञ्चालक तथा प्याराग्लाइडिङका विश्व कीर्तिमानी सुनुवारका अनुसार ५ हजार मिटरभन्दा माथिसम्म हिमालको काखमा चिसो हावासँगै गरिने प्याराग्लाइडिङको अनुभव विश्वमै दुर्लभ हो ।

‘यसको व्याख्या होइन, अनुभव मात्र गर्न सकिन्छ,’ उनले भने । लोमान्थाङमा व्यावसायिक प्याराग्लाइडिङको सम्भावना रहेको र त्यसबाट नेपाली पर्यटन उद्योगले ठूलो लाभ उठाउन सक्ने उनको भनाइ छ । लोमान्थाङमा प्याराग्लाइडिङको सम्भाव्यता अध्ययन हुनु मुस्ताङको पर्यटनका लागि सुखद भएको घेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ थोम्पेल विष्टले बताए ।

‘पहिले पनि विदेशी नागरिकले यहाँका विभिन्न स्थानबाट उडान नगरेका होइनन् । तर, ती उडान व्यावसायिक थिएनन,’ उनले भने । सरकारले सन् २०२० (आर्थिक वर्ष २०७६÷७७) लाई पर्यटन वर्ष घोषणा गरेको सन्दर्भमा लोमान्थाङमा प्याराग्लाइडिङ परीक्षण हुनु सुखद पक्ष रहेको स्थानीय पर्यटन व्यवसायी टासी बिष्टले बताए ।

क्लबले देशभर प्याराग्लाइडिङको सम्भाव्यता अध्ययन गरिरहेको छ । क्लबले हालसम्म काठमाडौंको चन्द्रागिरि, पाल्पाको रामपुर, ओखलढुंगा, भोजपुर, सिन्धुली, सुर्खेत, मुगुको रारा लगायत स्थानमा सम्भाव्यता अध्ययन गरिसकेको छ । निकट भविष्यमै उपल्लो डोल्पा र सोलुखुम्बुको गोक्यो ताल क्षेत्रमा परीक्षण उडानको योजना रहेको क्लबले जानकारी दिएको छ ।