विस्फाेट गराउँदै हिडेका नेता बैठक सकेर फर्कंदै गर्दा पक्राउ

नेकपा माओवादी विप्लव समूहका नेताहरु बैठक सकिएर फर्कदै गर्दा पक्राउ परेको विप्लव समूहका नेताहरुले बताएका छन् । ‘बैठकमा सहभागी भएर फर्कदै गर्दा नेताहरु पक्राउ परे’ –विप्लव समूहका एक नेताले बताए ।

प्रहरीले भने महाशाखाबाट खटिएको प्रहरी टोलीले मंगलबार बिहान काठमाडौंमा पक्राउ परेका नुमबहादुर विक र डिकेन्द्र राईको सूचनाका आधारमा रोशी गाउँपालिका–२ को काफलडाँडाबाट शिव धिमाल र विशाल तामाङलाई पक्राउ गरिएको बताएको छ ।

महाशाखाका सूचना अधिकृत प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरको नेतृत्वमा गएको प्रहरी टोलीले काफलडाँडामा पुग्दा जम्काभेट भएको र नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि आक्रमण गरेकाले आत्मरक्षाका लागि ४ राउन्ड फायर गरेको बताएको छ ।

पक्रकाउ परेकाहरुको साथबाट मोबाइल ६ थान, चार्जर ४ थान, ल्यापटप चार्जर, पिलास, कालो लेदर ब्याग र महान सर्वहारा सांस्कृतिक क्रान्तिको दस्तावेज लेखिएको किताव तथा अन्य मोबाइलहरु समेत फेला परेको प्रहरीले बताएको छ ।

उनीहरुलाई नख्खुमा रहेको एनसेल कार्यालय अगाडि गत फागुन १० गते बम विस्फोटन गराई एक जनाको मृत्यु भएको तथा दुई जना घाइते भएको र सोही दिन बेलुका काठमाडौको कमलपोखरी अगाडिको लोत्सेचोकमा रहेको आँगन मिठाई पसलमा बम विस्फोट गराएको अभियोग लगाइएको छ ।

फागुन २४ गते बेलुका वसुन्धरामा रहेको रोहन गुरुङको घरमा बम विस्फोटमा परी तीन जना घाइते भएका थिए । सबै घटनामा विप्लव समूहका मध्यक्षेत्रीय कमान्डरहरु संलग्न रहेका प्रहरीको निष्कर्षसहित उनीहरुको खोजी गरिरहेको थियो ।

मध्यक्षेत्रीय कमान्डमा प्रशिक्षण विभाग प्रमुख हेमन्तप्रकाश ओलीको कमान्डमा काठमाडौंका सबै घटनामा पक्राउ परेका कमान्डहरुको संलग्नता रहेको थियो । ११ जनाको साे समूहमा विभिन्न जिल्लाका नेताहरु सहभागी थिए । काठमाडौमा आक्रमणपछि काभ्रेको रोशी तथा महाभारत क्षेत्रमा लुकेर बसेको प्रहरीको सूचना थियो । सोमबार देउपुर हुँदै विप्लब समूहको टोली रोशी गाउँपालिका माथि काफलडाँडा नजिकै बैठक बसेको थियो । याे खबर आजकाे नेपाल समाचारपत्रमा छ ।