सडक खन्दा मुगलकालीन तामा र चाँदीका सिक्का फेला

बारबर्दिया नगरपालिका ६, सोनपुरदेखि जोगनपुर जोड्ने सडक खन्ने क्रममा तामा र चाँदीका सिक्का भेटिएका छन्  । स्काभेटरबाट सडक खन्दा करिब ३ फिट गहिराइमा मुगलकालीन तामा र चाँदीका सिक्का फेला परेको प्रहरीले जनाएको छ  ।

प्रहरी नायब उपरीक्षक मदनजित महराले माटाका घैंटोमा राखिएको चाँदीको सिक्का ५ थान ५४ दशमलव ४ मिलिग्राम र तामाको सिक्का ७ केजी २ सय ग्राम रहेको जनाए । केही सिक्का गाउँलेले लुकाएको पनि प्रहरीले जनाएको छ । तामा र चाँदीका सिक्का भेटिएपछि स्थानीय प्रहरीले सडक खन्न रोक लगाएको छ । उर्दू अक्षरमा लेखिएका ती सिक्का अनुसन्धानका लागि पुरातात्त्विक विभागमा पठाइएको छ ।

मुस्लिम अभिलेख पढ्न सक्ने जनशक्ति अभावमा अनुसन्धानका लागि पुरातात्त्विक विभाग पठाइएको प्रहरीले जनाएको छ । पुरातात्विक अनुसन्धान विभागका अधिकृत भास्कर ज्ञवालीले १३औं देखि १७औं शताब्दीको मुगलकालीन शासनकालका सिक्का हुन सक्ने जनाए । नयाँ मुलुक भएको बर्दियामा मुगल शासनकालमा चोरी, डकैतीका त्रासले माटोमुनि ती सिक्का गाडिएको हुन सक्ने अनुमान विभागको छ । मुगलकालमा बर्दियामा घना बस्ती नहुनु, घना जंगल भएका कारण सुन, चाँदी, तामा लगायत सिक्का माटाका भाँडामा गाडेका हुन सक्ने जनाइएको छ ।

०४५ सालमा सूर्यपटुवास्थित ओरही खोला नजिक ५ किलो सुनको असर्फी फेला परेको थियो । ती असर्फी तात्कालीन प्रहरी प्रशासनले नियन्त्रणमा लिएको थियो । बरामद असर्फी तात्कालीन प्रहरीले गायब पारेको आशंका छ । करिब ३ वर्षअघि गुलरियास्थित संगम बस्तीमा १ सय ३५ वर्ष अघिको सिक्का फेला परेको थियो । ३ सय ५० थान सिक्का भेट्टाएपछि त्यहाँ सडक खन्नेमध्ये केहीले सबै लुटेर लगेका थिए । ती मध्ये एक थान मात्र सिक्का फेला परेको थियो । सन् १८८० साल लेखिएको भारतमा तात्कालीन अंग्रेज सरकारको पालाको उक्त सिक्का रहेको छ ।

बेलायतकी तात्कालीन महारानी भिक्टोरियाको तस्बिर अंकित चाँदीको सिक्का थियो । तीन दशक अघिसम्म घना जंगल रहेको हाल यस क्षेत्र फँडानी भई बस्तीसमेत भएको छ । स्थानीय बासिन्दाका अनुसार घना जंगल भएको यस ठाउँमा डाँकाको डरले गाईबस्तु चराउने यादव वंशीले त्यस बेला माटोमा गाडेर राखेको अनुमान गरेका छन् । यस क्षेत्रमा यादव समुदायको घना बस्ती छ । त्यस समय जिल्लाको गुलरिया र राजापुरमा थाना (प्रहरी कार्यालय) थियो । प्रहरी थोरै संख्यामा भएका कारण चोरी डकैतीको त्रासले स्थानीयले घैंटोमा गरगहना र असर्फी राख्ने गरेका थिए । कान्तिपुरमा खबर छापिएको छ । swaviman.com