म्याग्दीमा हर्षोल्लासपूर्वक मनाइयोे होली (फोटो फिचर)

म्याग्दीमा फागुपूर्णिमा अर्थात् (होली) पर्व सदरमुकाम बेनीबजारसहित ग्रामीण क्षेत्रको विभिन्न ठाउँहरुमा हर्षोल्लासपूर्वक मनाइएको छ । हरेक वर्षको फागुन शुक्ल पूर्णिमाका दिन मनाइने नेपालीहरुको रङको पर्व होली साथीभाई र आफन्तबीच एकापसमा रङ लगाएर होली पर्व मनाइएको हो ।

होली पर्वको अवसरमा स–साना विद्यालय उमेर समूहका बालबालिकादेखि युवा पुस्ताले उमेर समूह बनाएर एक अर्कामाथि विभिन्न प्रकारका रङहरु दलेर शुभकामना साटासाट गरी होली पर्व मनाइएको छ ।पर्वमा साना बालबालिका, युवापुस्ता,सर्वसाधारण लगायतले सहभागिता जनाएका थिए । होलीमा विभिन्न प्रकारका रङ लगाउँदै ‘बेनीको बजार जता मायाँ उतै छ नजर’ जस्ता गीतहरु गाउँदै युवापुस्ता र बालबालिका रमाएका थिए ।

स्कुले बालबालिकाहरुले समेत आ–आफ्नो अनुहारमा विभिन्न किसिमका रङहरु दलेर होली मनाएका छन् । सडक तथा गल्लीसँगै घरका ब्रान्ड र छतबाट पानी छ्याप्ने, लोला हान्नुका साथै अबिर फालेर रमाइलो गरिएको थियो । यसैगरी अण्डा समेत प्रहार गरिएको थियो । होलीमा सहभागी युवाहरु गीतसङ्गीतमा झुमेका थिए । यसैबीच होलीलाई लक्षित गरी प्रहरीले बेनीबजार तथा आसपासका क्षेत्रमा गस्ती बढाएको जानकारी दिएको छ ।

परिचित वा अपरिचित जो भए पनि एकापसमा रङ लगाएर उल्लासमय वातावरणमा होली मनाउन तथा मर्यादित बनाउनका लागि यसअघि प्रहरीले सार्वजनिक सूचना जारी गरेको थियो । म्याग्दीमा सौहार्दपूर्ण वातावरणमा होली मनाइएको र अप्रिय खालको कुनै पनि घटना नघटेको प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासनीले बताए

बेनीमा नेवारी समुदायको साझा संस्था नेपाल भाषा मंकाखल, म्याग्दी जेसीज लगाएतका संघसंस्थाले समेत सामुहिक होली मनाएका थिए । नेपालमा प्रचलित विभिन्न संस्कृतिहरुमध्ये होलीको आफ्नै किसिमको महत्व रहेको छ । रङहरूको पर्व होलीको दिन पुराना कटुता समाप्त गर्ने, नकारात्मक सोचको अन्त्य गरी खुसी साट्ने दिनका रुपमा पनि होली मनाउने गरिएको पाइन्छ ।

यसैबीच म्याग्दीमा विगतका बर्षको तुलनामा होलीको रौनकता कम देखिएको छ । समुह र संघसंस्था लगाएत यूवाहरुले अघिल्लो दिनमै योजना बनाएर होली खेल्ने गरेपनि दुईदिनसम्म भएको बर्षाका साथै बेनीबजारमा वितरण भइरहेको खानेपानीको आपुर्तीमा समस्या भएपछि होली खेल्नेको संख्या घटेको अनुमान गरिएको छ । होली खेलेर बालबालिका,यूवादेखि पाकासम्म नजिक रहेको म्याग्दी र कालिगण्डकी नदीमा नुहाउन गएका थिए ।