अनियमित लोडसेडिङले म्याग्दीका उपभोक्ता हैरान

विना सुचना पटकपटक हुने विद्युत कटौटीले म्याग्दीका उद्योग, कलकारखाना, वित्तिय संस्था, विद्यालयका साथै सर्वसाधारणलाई हैरानी बनाएको छ । लोडसेडिङको कार्यतालिका नभएपनि म्याग्दीमा दैनिकजसो हुने अनियमित विद्युत कटौटीलेै विद्युत आपुर्ती बन्द हुदाँ समेत विद्युत प्राधिकरण बेनी वितरण शाखाले बेवास्ता गर्दा जिल्लाबासी आक्रोशित भएका छन् ।

विहान, दिउँसो र बेलुकी पटकपटक हुने विद्युत कटौटीलाई रोक्न पटकपटक ज्ञापनपत्र बुझाएर समेत ध्यानार्कषण गराउँदा समेत समस्या समाधान नभएको भन्दै पुनः दवाव दिनुपर्ने अवस्था आएको म्याग्दी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवम् उद्योगपती प्रमोद श्रेष्ठले बताए । ‘यस्तै अवस्था भएमा उद्योग सञ्चालनमा समस्या हुन्छ,‘सम्बन्धित निकाय गैरजिम्मेबारी बनेको छ’ श्रेष्ठले बेनीअनलाइनलाई भने । श्रेष्ठकै नेतृत्वका पटकपटक अनियमित लोडसेडिङ विरुद्ध आन्दोलन समेत भएको थियो । म्याग्दी उद्योग वाणिज्य संघले पटकपटक ज्ञापनपत्र बुझाउने गरेपनि समस्या समाधान हुन सकेको छैन् ।

‘धेरैपटक हामीले दवाव दिएपनि सुनुवाई भएको छैन । प्राधिकरणको मनपरी चलिरहेको छ’ संघका द्धितिय उपाध्यक्ष राजेश शाक्यले भने । यता प्राधिकारण बेनी वितरण केन्द्रले मोदी वितरण केन्द्रबाट विना सुचना काट्ने गरिएकाले बागलुङ र म्याग्दी वितरण केन्द्र दोषी मात्रै देखिएको बेनी वितरण केन्द्रको भनाई छ । ठुला सहरमा विद्युतको खपत गर्न केन्द्रले समेत हस्तक्षेप गर्ने गरेको कर्मचारीको गुनासो छ ।बेनीबजारलाई अस्पताल चोकमा ३ वटा, बेनी सामुदायिक विद्यालय नजिक २, मंगलाघाटमा २ र पर्वतबेनीमा २ वटा सानोठुलो क्षमताका ट्रान्सफर्मर रहेका छन् ।

बेनी वितरण केन्द्रले चैत्र २ र ३ गते बिहानदेखि बेलुकीसम्म विद्युत आपूर्ति बन्द भएपनि सोमबार समेत अनियमित कटौटी भएपछि सर्वसाधारण आक्रोशित भएका छन् । १५ एमभिए ट्रान्सफर्मरको स्थानमा ३० एम।भि।ए। पावर भएको ट्रान्सफर राख्न लागिएको सूचना जारी गरेको थियो । यसैबीच विद्युत अनियमित हुदाँ माध्यमिक शिक्षा परीक्षा (एसइई)को तयारीमा जुटेका विद्यार्थीको पठनपाठन समेत प्रभावित भएको छ । विहानै कोचिङ सहितको तयारी कक्षामा जोन विद्यार्थी समेत कटौटीका कारण समस्या भएको विद्यार्थीले बताएका छन् ।