चारदिन देखि बेनीमा खानेपानी आपूर्ती बन्द, बेनी-जोमसोम सडकखण्डमा डोजरको मनपरीले पाईप छियाछिया

गत शुक्रबार साँझदेखि बेनीबजारमा खानेपानीको आपूर्ती बन्द भएको छ । बेनी–जोमसोम–कोरला सडकखण्ड अन्तरगत रघुगंगा गाउँपालिका वडा नं ३ घोडेढुंगामा सडक स्तरउन्नतीको क्रममा बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका दुईवटै पाईपमा क्षती पुगेपछि चारदिनदेखि बेनीमा खानेपानीको हाहाकार भएको छ । सडकखण्डमा शर्मा यूनाईटेड जेभीले सम्झौता विपरित पटकपटक पाईपमा क्षती पुग्ने गरी काम गर्न थालेपछि खानेपानीको नियमित वितरणमा समस्या भएको संस्थाका प्रबन्धक कुमार थापाले बताए ।

उनका अनुसार सडक निर्माणको क्रममा हालसम्म उक्त कम्पनीका डोजरले पाइपको ब्यवस्थापन गर्ने गरी गरिएको सम्झौतालाई बेवास्ता गदैं क्षती पुगेपनि मर्मतमा चासो नदेखाउँदा समस्या भएको बताए । ‘अहिलेसम्म दर्जनौपटक पाईपमा क्षती पुगेको छ,‘यूनाईटेडका कर्मचारीको मनपरी नरोक्दा भविस्यमा पनि थप समस्या उत्पन्न हुन्छ’ थापाले भने । सडक विस्तारको क्रममा शर्मा यूनाईटेड जेभीले खानेपानीको पाईप आसपासमा स्तरउन्नतीको काम गर्दा अस्थायी प्रकृतिको कालो पाईपको प्रयोग गरी खानेपानीलाई नियमित गराउने र क्षती भएमा मर्मतमा सघाउने सहमति भएपनि सहमतिको कार्यान्वयन नगरेको संस्थाको आरोप छ ।

सडकखण्डमा करिव ४ किलोमिटरमा पाईप भएकाले पनि सहमतिलाई कार्यान्वयनमा जनप्रतिनिधि सहित सरोकारवाला निकायले समेत दवाव दिनुपर्ने संस्थाले जनाएको छ । संस्थाका अध्यक्ष सुवासकुमार श्रेष्ठले खानेपानीको आपूर्तीमा समस्या हुनुको प्रमुख कारण सडक विस्तारको क्रममा भएको क्षती भएकाले पनि यस्ता गतिविधिलाई न्यूनिकरण गर्न स्थानीय निकाय, जिल्ला प्रशासन सहित सरोकारवाला निकायबाट सडक स्तरउन्नतीको जिम्मा लिएको ठेकेदारलाई सचेत बनाउनुपर्ने बताए । ‘मर्मतमा धेरै खर्च भएको छ,‘नियमित खानेपानी आपूर्ती नहुदाँ चौतफी दवाव पनि उस्तै छ’ श्रेष्ठले भने ।

उनले उपभोक्तालाई समस्याका बारेमा जानकारी गराइएको बताउँदै संस्थाको कमजोरी भन्दा पनि गौरबको आयोजना भन्दै खानेपानीका पाईप संरक्षण गरी सडक विस्तार गर्नुपर्नेमा भइरहेको लापरवाही नै प्रमुख कारण भएको बताए । उनले शुक्रबारदेखि बन्द भएको खानेपानीको सोमबार साँझदेखि सुचारु भएको बताउँदै रातीसम्म उपभोक्ताको धारामा पानी पुग्ने बताए ।अन्नपूर्ण गाउँपालिका–८, राम्चेस्थित रहेको पुम्दीखोलाको मुहानबाट दुईवटा पाईपमा प्रति सेकेण्ड ३० लिटर पानी झर्ने पुम्दीखोला योजनाको ३ ओटा इन्टेक, चारवटा आरभिटी र १७० ओटा वितरण च्याम्बर रहेका छन् ।

पछिल्लो समय बेनी नगरपालिका वडा नं ३ दुधेखोलामा पहिरोका कारण खानेपानीको आपूर्ती नहुदाँ बेनीका उपभोक्तालाई पुम्दीखोलाकै पानी प्रयोग गर्ने गरिएको छ । बेनी खानेपानीले बेनीबजार तथा आसपासका क्षेत्रमा १ हजार ५ घरधुरीमा बसोबास गर्ने करिव २० हजार प्रयोगकर्तालाई खानेपानी उपलब्ध गराउँदै आइरहेको छ । खानेपानी वितरणलाई प्रभावकारी बनाउन बेनी नगरपालिका र संस्थाले कोरियाली संस्थाको सहयोगमा स्मार्ट खानेपानी योजना बनाउनका लागि पाइलट प्रोजेक्टको काम समेत भइरहेको छ ।