रबिना बोहरा/बागलुङ र पर्वत पाङ जोड्ने दक्षिण एसियाकै सबैभन्दा लामो झोलुङ्गे पुल निर्माण सुरु भएको छ । २०५९ सालबाट सम्भाव्यता अध्ययन थालिएको यस पुल निर्माणको काम झण्डै १६ बर्ष पछि सुरु हुन लागेको हो । सोमबार डोलीडारको टोलीले पुलको रेखाङकन गरी गहिराई, चौडाई, लम्बाईको नक्सा निकाल्ने काम गरेको छ ।

बागलुङ नगरपालिका–१ रामरेखा र कुश्मा नगरपालिका–१ पाङ अदुवावारी जोड्नेगरी बनाउन लागिएको ५ सय ६७ मिटर लामो र झण्डै एक सय २२ मिटर अग्लो पुल निर्माणका लागि हिमशिखर कन्स्ट्रक्सनले ६ करोड ९१ लाख रुपैँयामा ठेक्का सम्झौता गरेको छ । यस बर्षबाट सुरु गरी २०७७ असारमा सम्पन्न गर्ने लक्ष्य राखिएको पुल निर्माणमा बजेट अभाव तथा स्थानीयबासीको अवरोध नआएमा समयमा नै सम्पन्न गर्ने निर्माण कम्पनीका नरहरी खड्काले बताउनुभयो ।

नेपालमा पहिलो पटक यस किसिमको लामो पुल बन्न लागेकाले केही चुनौती भएपनि दक्ष प्राविधिकहरु भएकाले गुणस्तरीय काम गर्ने खड्काले बताउनुभयो । विगतमा पुल बनाउदा आवश्यक पर्ने लठ्ठा तान्ने मेसिन र बजेटको समस्या हुँदा काम अगाडी बढ्न सकेको थिएन ।यस बर्ष नेपाल सरकारले चिनिया प्रविधिको लठ्ठा तान्ने मेसिन खरिदका लागि ४० लाख रुपैँया बजेट बिनियोजन गरेपछि काम अगाडी बढेको हो । झण्डै ९ महिना देखि डिजाईनको काम गरिएको थियो ।

सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका इन्जिनियर सागरराम नेपालले अहिले सम्म ३ सय ६५ मिटर सम्मका लामो पुल बनाएकाले यस पुल दक्षिण एशियाकै लामो हुने बताउनुभयो । खुल्ला प्रकृतिको मानिस ओहोरदोहोर गर्ने यस पुल निर्माण गर्न निर्माण व्यवसायीलाई २ बर्षको समय दिइएको छ ।

अन्य पुलहरु भन्दा लामो तथा जटिल हुने भएकाले बढी समय दिइएपनि लगातार काम गरे डेढ बर्षमा नै सम्पन्न हुने सस्पेन्सन ब्रिज डिभिजन कार्यालयले जनाएको छ । दुई जिल्ला जोड्ने यस पुल निर्माण भएपछि पर्यटकिय क्षेत्रको विकास संगै आर्थिक स्तर उकास्नका लागि पनि सहयोग पुग्ने सरोकारवालाहरुले बताएका छन् ।

कुश्मा नगरपालिका–१ का वडा अध्यक्ष देवेन्द्र सुवेदीले कृषी उपज ल्याउन तथा पर्यटनको क्षेत्रको विकासमा यसले महत्वपुर्ण फाईदा पुग्ने बताउनुभयो । पाङको अदुवाबारी जोड्ने पुल सम्म सामान पु¥याउनका लागि करिब एक सय मिटर बाटो बनाउन यस बर्ष वडा कार्यालयले डेढ लाख रुपैँया बजेट बिनियोजन गरेको बताउनुभयो ।

यस बर्ष कम बजेट बिनियोजन भएपनि प्रदेश र केन्द्र सरकार संग पहल गरी अन्य पुर्वाधार निर्माणमा पहल गर्ने बताउनुभयो । बागलुङ बजारसँग व्यवसायीक सम्बन्ध रहेका कुश्मा नगरपालिका, जलजला गाउँपालिकावासी लगायतका जनताका लागि सहज पुहुँच पुग्ने गरी पुल निर्माणका लागि केन्द्र सरकारलाई यस अगाडि नै दवाव दिइरहेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताउनुभयो ।

बारम्बारको प्रयासपछि अहिले काम सुरु हुन लागेको भन्दै समयमा सम्पन्न गर्नका लागि पनि दबाब दिइरहेको पौडेलले बताउनुभयो । बागलुङ बजारबाट पाङ पुग्न पैदलमार्ग मार्फत डेढ घण्टा लाग्ने भएपनि पुल निर्माण भएपछि पन्ध्र मिनेटमा नै पुगिने छ । कालिगण्डकी नदी, मध्यपहाडी लोकमार्ग तथा कालिगण्डकी करिडोर माथि पुल बन्ने भएकाले पर्यटकीय दृष्टिकोणले पनि महत्वपुर्ण मानिएको छ ।