झाँक्रीपानी ! म्याग्दीको नयाँ पर्यटकीय गन्तब्य

आँखै अगाडी अग्ला पहराबाट हिमालका दृष्यहरू ठोकिन्छन् । आसपासमा रहेका अग्ला पहाड, ग्रामिण बस्ती सहित आसपासमा रहेको लालीगुँरासको मनोरम दृष्यले पश्चिम म्याग्दीको मंगला गाउँपालिका–३, बराङ्जामा पर्ने पर्यटकीयस्थल झाँक्रीपानीमा पुग्ने पर्यटकलाई आर्कषित गर्ने गरेको छ । म्याग्दीका पुराना पर्यटकीयस्थलको नाकैमुनी सडक सञ्जाल पुगेपछि पदैल तथा नयाँ गन्तब्यको खोजीमा रहेका आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा पर्न थालेको झाँक्रीपानीबाट नांगो आँखाबाट जिल्लाका अन्य पर्यटकीयस्थल सहित निरन्तर बगिरहेको म्याग्दी खोला समेत देखिन्छ ।

चारैतिर बनजंगल, तल म्याग्दी नदीको नागवेली दृश्य, अग्लाअग्ला पहाड,ग्रामिण परिवेश,छरिएर रहेको वस्ती, ढुङ्गाका छानो भएका घर, विभिन्न प्रजातिका जडिबुटी,चैतबैशाखमा राताम्यै फुल्ने लालिगुराँस यहाँका प्रमुख आकर्षणहरु हुन् । संसारकै सातौँ अग्लो धौलागिरि, अन्नपूर्ण, निलगिरि, मानापाथी, गणेश हिमाल लगायतका दर्जनौँ हिमालको प्रत्यक्ष अवलोकनका साथै छिमेकी बागलुङ जिल्लाको ताराखोला गाउँपालिका सहित पर्वतको समेत केही गाउँ देखिने पर्यटकीय एवं रमणीयस्थल झाँक्रीपानीमा धार्मिक तथा पर्यटकीय आकर्षणका रुपमा रहेको छ । समुन्द्री सतहदेखि २ हजार २ सय मिटरको उचाइमा अवस्थित झाँक्रीपानीमा आफ्नो आँखै अगाडि देखिने सेताम्मे हिमालको आकर्षणले समय वितेको पत्तै हुदैन् ।

म्याग्दी सदरमुकाम बेनीबाट सवारीसाधनमा करिव साढे दुईघण्टामा पुगिने तथा मंगला गाउँपालिकाको केन्द्र बावियाचौर, बेनी नगरपालिकाको तातोपानीबाट समेत पैदलयात्रामा करिव साढे तीन घण्टामा पुगिने उक्त स्थानमा फागुनदेखि बैशाख मनिासम्म जंगलमा राताम्मे लालीगुराँस समेत देखिन्छ । त्यस ठाउँमा जुनसकै समयमा पनि बनभोजमा पुग्नेलाई स्थानीयले समेत भब्य स्वागत गर्ने गरेका छन् । ‘पर्यटक हाम्रो लागी ठूलै सम्पत्ती हो,‘पर्यटकलाई स्वागत गर्न आतुर छौ’ स्थानीय राममायाँ रोकाले भनिन् । उनले केहीबर्ष अगाडीसम्म सुनसान हुने स्थानमा पछिल्लो समय पर्यटकको आगमनले धेरै उत्साह थपिएको बताउँदै पूर्वाधार विस्तार सहित पूरानो भजनबाटै पर्यटकलाई स्वागत गर्ने गरेको बताईन् ।

उनले स्थानीय आमा समुह, सुरक्षित मातृत्व समुहले समेत स्वागत सहित गाउँको बारेमा जानकारी गराउने गरेकाले पर्यटक उत्साहित भएर फर्किने गरेको बताईन् । पर्यटकीयस्थलमा घुम्न आउनेलाई खुसी बनाएर पठाउने स्थानीयले स्वागत तथा सत्कारलाई समेत अन्य पर्यटकीयस्थलको तुलनामा मौलिक रुपमा प्रस्तुत गर्ने गर्दछन् । कलिला बालबालिकादेखि बृद्धबृद्धासम्मले पर्यटकलाई स्वागतमै समय खर्चिने, सस्तोमा अर्गानीक खानाको सुविधा दिने गरेकाले पनि म्याग्दीको पर्यटनको विकासमा झाँक्रीपानी नयाँ गन्तब्य भएको म्याग्दी उद्योग वाणिज्य संघका द्धितिय उपाध्यक्ष राजेश शाक्यले बताए । उनका अनुसार पर्यटकलाई पूर्वाधारसंगै स्थानीयको स्वागतले समेत प्रभावित बनाउने भएकाले पनि स्वागतलाई आम्दानीसंग नजोड्ने यहाँको नयाँ अभ्यास रहेको बताए ।

म्याग्दीको सदरमुकाम नजिक रहेको ज्यामरुककोट, भकिम्ली हुदै पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका जोड्ने बैकल्पिक पदमार्गको अवधारणा समेत आएको बताउँदै पदयात्रामा रमाउनेलाई एकदिनको बसाई झाँक्रीपानी बनाउन सकिने बताए । मंगला गाउँपालिका र गण्डकी प्रदेशबाट पूर्वाधार सहित होमस्टेका लागि समेत बजेटको ब्यवस्था भएकाले पनि स्थानीयले पर्यटकलाई घुम्न आउने निम्तो दिने गरी तयारी गरिरहेका छन् ।

मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले झाँक्रीपानीमा भित्रिने पर्यटकले गाउँपालिकाको ब्यापक प्रचारप्रसार हुने भएकाले पनि प्रदेश र संघीय सरकारबाट समेत बजेट विनियोजन गरी पूर्वाधार विस्तार भइरहेको बताए । कुनै समय नांगो डाँडा भएपनि अहिले पर्यटकीय गन्तब्यको रोजाईमा परेपछि घुम्न आउनेलाई पूर्वाधार विस्तारगरी थप आर्कषित गरिने बताए । उनले एकदिनसम्म झाँक्रीपानीमै बस्ने वातावरण बनाउने गरी आधादशक भित्र आर्कषक पूर्वाधार थपिने दावी समेत गरे ।

उनले पर्यटकीयस्थल संगै स्थानीयलाई विभिन्न परिकारका खाना सम्बन्धि तालिम,गाउँकै सिरान र घना जंगल आसपासमा रहेको झाँक्रीपानीमा दुर्लभ बन्यजन्तु, बनस्पति जडिबुटीको भण्डार समेत रहेकाले पहिचान गरी आम्दानीको स्रोत बनाउने र गाउँ आसपासमा भेटिने बन्यजन्तुको संरक्षणका लागि तालिम समेत दिईने बताए । जंगली जीवतन्तुको संरक्षण गरी जंगल सफारीको योजना समेत बनाइएको बताए । विगतमा समेत पर्यटकीयस्थल बनाउन स्थानीयले दर्जनौ प्रयास गरेपनि पूर्वाधारका कारण सफल नभएको अवस्थामा पूर्वाधारमा गाउँपालिकाले चासो देखाएपछि स्थानीयले समेत जनश्रमदान तथा आन्तरिक स्रोतको पहिचान गरी गाउँमै रहेको पर्यटकीयस्थललाई जिल्लाकै आर्कषक गन्तब्य बनाउन तल्लिन छन् ।

धमाधम पूर्वाधार विस्तार
झाँक्रीपानीमा स्थानीयले पदमार्ग,भ्यूटावर र एकिकृत सामुदायिक भवन लगाएतका पूर्वाधारहरु निर्माण गरिरहेका छन् । प्राचिन समयमा त्यस ठाउँमा झाँक्री बस्ने गरेका र पानीको कुनै स्रोत नहुँदा काकाकुल बनेका झाक्री खलकलार्ई मूल झाँक्रीले तान्त्रिक विधिद्धारा आफ्ना इष्ट देवतालाई खुसी बनाई पानी निकालेको किंवदन्तीका आधारमा नामाकारण गरिएकाले पनि यस क्षेत्रलाई धार्मिक क्षेत्रको रुपमा समेत चिन्ने गरिन्छ ।

पर्यटकको चलहपहल सुरु भएपछि करिव २२ लाखको लागता भ्यूटावर बन्दैछ भने एकिकृत भवन निर्माणाधिन अवस्थामा छ । झाँक्रिपानी प्रवेशद्धारदेखि भ्यूटावर राखिने स्थानसम्म पुग्ने पदमार्गमा सोलिङ गरिएको छ भने वरिपरि तारजाली लगाउने योजना रहेको भ्यूटावर निर्माण समितिका सचिव कोमल थापाले बताए ।

उनका अनुसार एकिकृत सामुदायिक भवनका लागि गाउँपालिकाले समेत प्राथमिकता दिएकाले पनि भ्रमणसंगै एकिकृत भवनमा बैठक कक्ष,सामुदायिक वनको कार्यालय,युवा क्लव र आमा समूहको कार्यालय रहने छ । आन्तरिक एवम् बाह्य पर्यटकहरुका लागि अत्यन्त रोमाञ्चकारी मानिने झाँक्रीपानीमा स्थानीयले पर्यटन तालिमको समेत तयारी भइरहेको छ । धेरै पहिले झाँक्रीहरुबो बसोबास रहेको भएपनि अहिले झाँक्रीपानीमा मगरहरुको वस्ती रहेको छ । एक घर बाहुन, एक घर विक र ५७ घर मगर समुदायको गरी जम्मा ५९ घरधुरी यहाँ रहेका छन् ।