निलो छायाँ टल्किने ‘सानो फेवाताल’ संरक्षणको पर्खाइमा

निलो तालमा आसपासका घर, खेतबारी अनि आकाशको निलो छायाँ देखिन्छ । ताल नजिक रहेको मन्दिर तालभित्र रहेको अनुभुति त्यहाँ पुग्नेलाई हुन्छ । झट्ट हेर्दा ‘सानो फेवाताल’जस्तै देखिने म्याग्दीको मंगला गाउँपालिका वडा नं ३ बरंजाको दहतालको सुन्दरताले त्यहाँ पुग्नेलाई लोभ्याउने भएपनि प्रचारप्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको छ ।

हल्का बादल लागेको बेला हिमालको काखमै रहेको ताल जस्तै देखिने दहको संरक्षणमा स्थानीयले प्रसस्तै प्रयास गरेपनि आन्तरिक तथा बाह्य पर्यटकलाई आर्कषित गर्ने योजना बन्न नसक्दा सुन्दरता दहमै सिमित भएको छ । बरंजाको प्रवेशद्धारमै रहेको ‘सानो फेवाताल’को नामले चिनिने दह तालको संरक्षणमा स्थानीयले सरकारी अनुदान, जनश्रमदानबाट समेत तारबार, सरसफाई सहित पुजाआजा गर्ने गरेका छन् ।

पशुचौपायाको आहालको रुपमा समेत प्रयोग गर्ने ताल निकै आकर्षक र मनमोहक भएपनि स्थानीयले काठको डुंगा सञ्चालन, आसपासका क्षेत्रमा रहेको ब्यक्तिको जग्गालाई लिएर साईकलामा सयर लगाएत तालभित्रको मन्दिरको मर्मत सहित सेल्फी सेन्टर अर्थात फोटो खिच्ने स्थान लगाएत थुप्रै योजना बनाएपनि बजेटको अभावले अलपत्र परेको दहताल संरक्षण समितिका अध्यक्ष कुलबहादुर थापाले बताए ।

‘तालको संरक्षणका लागि हामीले निरन्तर पहल गरेका छौ,‘आर्थिक नहुदाँ योजनाहरु कागजकै पानामा सिमित छन्’ थापाले बेनीअनलाइनलाई भने । उनले तालमा पौडी खेल्न मिल्ने सफा पानी भएपनि प्रयोगमा ल्याउन नसकिएको बताउँदै तालमा पशुचौपायालाई रोक लगाइने बताए । उनले मौसम सफा हुदा बिहानीपख ताल टलक्क टल्किने भएकाले पनि डुंगामा सयर गरेर रमाउनेहरुलाई आर्कषित गर्ने पहिलो योजनालाई कार्यान्वयनमा सहयोग गर्न गाउँपालिका, प्रदेश सरकारलाई समेत अनुरोध गरिएको बताए ।तालभित्र अवस्थित बराह मन्दिर यहाँको विशेष आकर्षण रहेको बताए । तालमा रहेका बराह मन्दिरलाई पोखराको फेवाताला रहेको बराह देवताको भाईको रुपमा समेत चिनिन्छ ।

ताल र बराहथानको दर्शन तथा पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको छ । भौतिक पूर्वाधारको निर्माण गरी जिल्ला र राष्ट्रियस्तरमा प्रचारप्रसार गर्न सकेमा गाउँको सिरानमा अवस्थित यो ताल धार्मिक पर्यटकीयस्थल बन्नसक्ने घुम्न गएका बेनीका नरेश श्रेष्ठल े बताए । उनले तालका बारेमा जानकारी पाएपछि शनिबार घुम्न आएको बताउँदै ताल देखेर उत्साहित भएबकाले साथीहरुलाई समेत घुम्न जान अनुरोध गर्ने बताए । प्रत्येक वर्षको बालाचतुर्दशीका दिन तालमा भक्तजनको निकै ठूलो भीड लाग्ने भएपनि अन्य समयमा सुनसान हुने गर्छ । दह ताल करिब पाँचसय बर्गमिटर क्षेत्रफलमा फैलिएको छ ।