म्याग्दी र मुस्ताङका ४० विद्यालयलाई २० लाख मूल्यका स्टेशनरी सामाग्री सहयोग

हाम्रो माया नेपाल जर्मन र स्वम् सेवा नेपाल नामक संस्थाले म्याग्दी र मुस्ताङ जिल्लाका ४० ओटा आधारभूत विद्यालयलाई २० लाख मूल्य बराबरका स्टेशनरी सामाग्री सहयोग गरेको छ । विहीवार म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ३ दानामा आयोजित झोला र स्टेशनरी सामाग्री वितरण कार्यक्रममा हाम्रो माया नेपाल जर्मनका सदस्य नाविङ कुरुसले झोला र स्टेशनरी सामाग्री वितरण गर्दै दुई जिल्लाका ४० वटा सामुदायिक विद्यालयमा २० लाख मूल्यका स्टेशनरी सामाग्री वितरण गरिएको बताए ।

सोही कार्यक्रममा अन्नपूर्ण गाउँपालिका ३ दाना र वडा नं ४ नारच्याङका ८ ओटा विद्यालयमा अध्ययनरत करिब २ हजार विद्यार्थीहरुलाई झोला सहित स्टेशनरी सामाग्री वितरण गरिएको सहयोगी संस्था स्वयम् सेवा नेपालका कोषाध्यक्ष विशाल गुरुङले जानकारी दिए ।कोषाध्यक्ष गुरुङले दिएको जानकारी अनुसार हाम्रो माया नेपाल जर्मनसंगको सहकार्यमा स्वमय् सेवा नेपालले देशका विकट ग्रामिण क्षेत्रमा रहेका विद्यालयहरुमा अध्ययन गर्ने विद्यार्थीहरुलाई झोला सहित स्टेशनरी सामाग्रीहरु सहयोग गर्दै आएको छ ।

अहिलेसम्म नेपालका १० ओटा हिमाली र पहाडी जिल्लाहरुमा सहयोग सामाग्री वितरण गरिसेको कोषाध्यक्ष गुरुङले जानकारी दिनुभयो । विपन्न,दलित र जनजाती समुदायका बालबालिकाहरुले अध्ययन गर्ने दुर्गम जिल्लाका ग्रामिण भेगमा रहेका विद्यालयहरुलाई सहयोग स्वरुप स्टेशनरी सामाग्री वितरण गरिएको उनकोे भनाइ थियो ।स्टेशनरी सामाग्री प्राप्त भएपछि दुर्गम ठाउँका विपन्न परिवारका बालबालिकाहरुलाई पढाइमा सहयोग पुग्ने अन्नपूर्ण गाउँपालिका ३ दानाका वडाअध्यक्ष नरशिंहबहादुर पुर्जाले बताए ।