गैरआवासीय नेपालीको साढे ३ अर्ब लगानीमा ठूलोखोला जलविद्युत आयोजना

म्याग्दीको रघुगंगा गाउँपालिकाको कुइनेमंगलेमा गैरआवासीय नेपालीहरुको रु ३ अर्ब ५७ करोडको लगानीमा २१ मेघावाट क्षमताको ठूलोखोला जलविद्युत आयोजना निर्माण हुने भएको छ । जलविद्युत आयोजना निर्माणका लागि गैरआवासीय नेपालीहरुको संस्था (एनआरएन आइसीसी)ले रघुगंगा गाउँपालिकाबाट अनुमति लिई सर्वेको काम पूरा गरिसकेको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए ।

प्रतिमेगावाट रु १७ करोडको लागतमा निर्माण हुने सो आयोजनामा सम्पूर्ण लगानी गैरआवासीय नेपालीहरुको नै रहने जनाइएको छ ।गानीको सम्बन्धमा जापानका तीन विभिन्न सहरहरुमा विशेष कार्यक्रमको आयोजना गरिएको एनआरएन जापानका महासचिब बुद्धिराज घिमिरेले जानकारी दिए। महासचिव घिमिरेले दिएको जानकारी अनुसार मार्च १५ अर्थात् आज चैत १ गते जापानको सिजुओकामा गैरआवासीय नेपालीहरुको भेला बोलाइएको छ ।

भेलामा लगानीको विषयमा छलफल भैरहेको जापानबाट घिमिरेले जानकारी दिए । त्यसैगरी आज बेलुकी जापानको अर्को सहर नागोयामा पनि कार्यक्रमको आयोजना गरिएको छ भने मार्च १७ अर्थात् चैत ३ गते टोकियोमा पनि विशाल कार्यक्रमको आयोजना गरिएको छ ।भेला पछि लगानीका विषयमा स्पष्ट खाका तयार हुने जनाइएको छ । त्यसपछि २०७६ साल वैशाखबाट नै काम अघि बढाइने घिमिरेले बताए । File photo