निशुल्क आँखा शिविरबाट १६ सय जना लाभान्वित : ८२ जनाको शल्यक्रिया

म्याग्दीको सदरमुकाम बेनीबजारमा शुक्रवार सम्पन्न तीन दिने निशूल्क आँखा शिविरबाट १६ सय जनाभन्दा बढी आँखाका विरामीहरु लाभान्वित भएका छन् । शिविरमा ८२ जना मोतियाविन्दु भएका विरामीहरुकोको निशुल्क शल्यक्रिया गरिएको छ ।

‘हामी नेपाली’ काठमाण्डौंको आयोजना,नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाण्डौंको प्राविधिक सहयोग,बेनीका विभिन्न लायन्स क्लवहरु, नेपाल रेडक्रस सोसाइटी म्याग्दी र आर्ट फाउण्डेसन काठमाण्डौंको व्यवस्थापनमा निशुल्क आँखा शिविर सम्पन्न भएको हो । शिविरमा उपचार हुन नसकेका ९ जना जटिल विरामीहरुलाई हिमालय आँखा अस्पताल पोखरा रिफर गरिएको शिविरका संयोजक एवम् नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका नेत्ररोग विशेषज्ञ डा.कल्याण ढुङ्गानाले जानकारी दिनुभयो ।

शिविरमा नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाण्डौंका वरिष्ठ नेत्ररोग विशेषज्ञ डा.अर्चना शर्माको नेतृत्वमा १० जना चिकित्सकहरुको टोलीले सेवा प्रदान गरेको थियो । शिविरमा आएका धेरैजसो विरामीहरुको दृष्टि दोष (धेरै टाढा वा नजिक)को दृश्य देख्न नसक्ने समस्या रहेको र उनीहरुलाई चश्मा लगाउन आवश्यक देखिएको शिविरका प्रमुख चिकित्सक वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. अर्चना शर्माले बताउनुभयो ।

आँखाको उपचार गराउनका लागि म्याग्दी र पर्वतका विभिन्न गाउँहरुबाट आँखा रोगीहरु शिविरमा आएका थिए । जिल्लाको रघुगंगा गाउँपालिकको कुइनेमंगलेबाट २ दिनको समय लगाएर मोतियाविन्दुको शल्यक्रियाका लागि शिविरमा आउनुभएकी ७१ वर्षिया सश्रुङ्गा छन्त्यालले बुढेसकालमा छर्लङ्ग आँखा देख्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । ‘दुइवटै आँखा राम्रोसंग देख्दैनथें’ छन्त्यालले भन्नुभयो ‘अप्रेशन गरेपछि त छ्याङ्गै देख्ने भएँ ।’

आँखा देख्ने भएपछि ७० वसन्त पार गरेका बृद्धबृद्धाहरुले चिकित्सकहरुलाई ‘भगवानको रुप’ भनेर प्रशंसा समेत गरेका थिए । बेनी नगरपालिका ५ पुलाचौरकी ५२ वर्षिया मना परियारले १३ वर्षपछि आफूले पूर्ण रुपमा आँखा देखेको बताउनुभयो । परियारले भन्नुभयो ‘उहाँहरु (चिकित्सक) भगवानकै रुप बनेर आउनुभयो,म १३ वर्षपछि पूर्णरुपले आँखा देख्न सक्ने भएँ ।’

त्यसैगरी मंगला गाउँपालिका २ मिठौलाकी ७२ वर्षिया मैति किसान विगत ७ वर्षदेखि मोतियाविन्दुका कारण अध्यारो जिन्दगी वाचिरहनुभएको थियो । अहिले उहाँले पनि आँखा देख्ने हुनुभएपछि चिकित्सक र शिविर आयोजकलाई ‘मेरा लागि त देउतै आए’ भनेर आशिक समेत दिनुभयो ।बुढ्यौलीका कारणले आँखाको दृष्टि कमजोर भएका कैयौं विरामीहरुले पनि चश्मा पाएपछि पहिलाको भन्दा राम्रो देख्न थालेको प्रतिक्रिया दिए ।

शिविरमा पुरुषको भन्दा पहिलाको संख्या बढि रहेको महारानी क्लवकी अध्यक्ष हिरा पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार शिविरमा ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुषहरुले उपचार गराएका छन् ।शिविरको आयोजक आयोजक ‘हामी नेपाली’ काठमाण्डौंका उपाध्यक्ष गंगाराज पौडेलले आफ्नो संस्थाले वर्षेनी नेपालका विकट जिल्लाहरुमा पुगेर शिविर आयोजना गर्ने गरेको बताउनुभयो । विभिन्न कारणले आँखाको ज्योति गुमाएर अध्याँरोमा जिन्दगी विताउन बाध्य गरिब तथा आँखाका दीर्घरोगीहरुको उपचार गरी ज्योति प्रदान गर्न पाउँदा आफूहरुलाई पनि आनन्द लाग्ने उहाँको भनाइ थियो । शिविर बुधबारदेखि शुरु भएको थियो ।