उत्तरपुस्तिकासँगै म्याग्दीका छात्रालाई सेनेटरी प्याड दिइने

यहाँ यसबर्ष नजिकिदै गरेको एसइई परीक्षामा सहभागी हुने छात्रालाई उत्तरपुस्तिकासँगै सेनेटरी प्याड बितरण गरिने भएको छ । आगामी चैत १० गतेदेखि सुरु हुन लागेको एसईई परीक्षालाई मध्यनजर गर्दै गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले म्याग्दीमा सेनेटरी बितरण गर्न लागेको हो ।

सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरु महिनावारी भएकै कारण विद्यालयमा नजाने र विद्यालय छोड्ने गरेको तथ्याङ्कलाई मध्यनजर गर्दै गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले एसईई परीक्षा प्रभावित नहोस भनेर म्याग्दीमा सेनेटरी प्याड वितरण गर्ने जनाएको हो । शुक्रबार मन्त्रालयकी प्रमुख महिला विकास अधिकृत तुलसा अर्यालले निमित्त इकाई प्रमुख केश बहादुर बुढाथोकीलाई १५ हजार रुपैयाँ बराबरको प्याड खरिद गर्न चेक हस्तान्तरण गर्नुभएको छ ।

मन्त्रालयका अधिकृत अर्यालले छात्रामा हुने महिनावारीलाई सहज रुपले व्यवस्थापन गरी परीक्षामा सहभागी गराउन प्रदेशभित्रका सबै जिल्लामा सहयोग गरिएको बताउनुभयो । ‘छात्राहरु महिनाबारी भएको समयमा बिद्यालयमा सहभागी नहुने गरेको पाउने गरेका छौ, महिनाबारीको समयमा कुनैपनि छात्राको एसईई परीक्षा प्रभावित नहोस् भन्नका लागि सेनेटरी प्याड बितरण गर्ने ब्यवस्था मिलाएका हौ’ अर्यालले भन्नुभयो ।एसईई परीक्षा चैत १० गतेदेखि सुरु हुँदैछ । म्याग्दीमा २२ सय ४२ विद्यार्थी सहभागी हुने परिक्षामा ११ सय ११छात्रा विद्यार्थी रहेका छन् ।

सामाजिक विकास मन्त्रालयले छात्रा संख्याको अनुपातका आधारमा सेनेटरी प्याड खरिदका लागि शिक्षा विकास तथा समन्वय इकाई म्याग्दी १५ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ । सेनेटरी बितरणले महिनाबारी भएका छात्रालाई निकै राहत मिल्ने पनि इकाईका निमित्त प्रमुख बुढाथोकीले बताउनुभयो । कार्यक्रमको सञ्चालन मञ्चालयकी विष्णु पौडेलले गर्नुभएको थियो भने पत्रकार महासंघ म्याग्दीका सभापति तारानाथ शर्मा लगाएतको उपस्थिती रहेको छ । म्याग्दीका ६ वटै स्थानीय तहमा ९ केन्द्रमा छात्रा विद्यार्थीलाई प्याडको ब्यवस्था सहित केद्राध्यक्षलाई अभिमुखिकरण तालिम सञ्चालनमा जानकारी गराइने छ ।