म्याग्दी हिमाली जिल्लामा सूचिकृत, यस्ता हुन सक्छन् फाईदा ?

म्याग्दीलाई हिमाली जिल्लामा सूचिकृत गरिएको प्रस्ताव संघीय संसदको दुईवटै सदनबाट पारित गरेसंगै कानुन न्याय तथा संसदीय ब्यवस्था मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको छ । हिमाली जिल्ला कायम गराउन आवश्यक मापदण्ड पुग्दा समेत पहाडी जिल्लाकै रुपमा कायम गर्नु अन्यायमा परेको जिल्लालाई जिल्ला, प्रदेश तथा प्रतिनिधिसभाबाट लगातार दबाव सहित प्रमाणहरू पेश गरिएपछि केही नेपाल ऐन संसोधन मार्फत गरिएको प्रस्तावलाई केही नेपाल ऐन संसोधन गर्ने विधेयक २०७५ संघीय संसदबाट पारित भएसंगै हिमाली जिल्लाबाट हुने फाईदाका विषयमा म्याग्देलीले चासो ब्यक्त गरेका छन् ।

?????????????????????????????????????????????????????????

राजपत्रमा प्रकाशित भएपछि बैधानिक हिसाबले हिमाली जिल्लाको मान्यता पाएको म्याग्दीले सूचिकृतसंगै जिल्लाले प्राप्त गर्ने बजेट सहित सरकारी सुविधामा समेत बृद्धि हुने छ। हिमाली जिल्ला घोषणा गर्न जिल्ला समन्वय समिति, गण्डकी प्रदेश र प्रतिनिधिसभामा जिल्लाको बास्तविकताको आधारमा प्रमाण समेत पेश गरिनुका साथै प्रतिनिधिसभाका सदस्य भुपेन्द्रबहादुर थापाले प्रतिनिधिसभामा समेत जिल्लालाई हिमाली जिल्लाको सूचीमा समावेश नगर्नु अन्यायपूर्ण भएको भन्दै आवाज उठाउँदै आएका थिए ।

नेपालको ७७ जिल्लामध्ये २० जिल्ला सूचिमा रहेपनि २१ ऋौ स्थानमा म्याग्दी परेको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन १९ गते प्रमाणित गरेपछि फागुन १९ गते राजपत्रमा प्रकाशित भएको थियो ।हिमालै हिमालले घेरिएको म्याग्दीलाई हिमाली जिल्लामा समावेश नगर्दा केन्द्रियस्तरमा जिल्लाका राजनीतिक दलका नेताको पहुँच बलियो नहुदाँ नियमित बजेट बाहेक जिल्लाले खासै ठूलो बजेट प्राप्त गर्न सकेको थिएन् ।

हिमाली भूगोल भएपनि पहाडी जिल्ला कायम गरिएकोमा बजेट विनियोजन, पर्यटन प्रर्वधन, हिमाल आरोहणका लागि आउने आरोही पर्यटकबाट प्राप्त हुने रोयल्टी लगाएत राज्यको प्राथमिकतामा पर्न नसकेको अवस्थामा हिमाली जिल्लाको सूचिकृतमा परेसंगै बजेट, सरकारी कर्मचारीको सुविधा, कृषि लगाएतका अनुदानमा बजेट बढ्ने प्रतिनिधिसभाका सदस्य थापाले बेनीअनलाइनलाई बताए । ‘विस्तारै यसका सरकारात्मक प्रभावहरु देखिन्छन्,‘हिमाली जिल्लाबाट फाईदै फाईदा हुन्छ’ थापाले भने । पाँच गाउँपालिका र १ नगरपालिका रहेको म्याग्दीको कुल क्षेत्रफल २२९७ बर्ग किलोमिटर रहेको छ ।

के हुन्छ हिमाली जिल्लाको फाईदा ?
प्रसिद्ध हिमशिखर, नदीनाला, धार्मिक तथा पर्यटकीयस्थल रहेको म्याग्दी हिमाली जिल्लाको सूचीमा परेपछि बर्षेनी प्राप्त हुने सरकारी बजेट, ठूला आयोजना, गैरसरकारी संस्थाको आर्कषण समेत देखिन्छ । दुर्गम तथा पहाडी जिल्लाको रुपमा चिनिदै आएको म्याग्दीको परिचय फेरिएसंगै सरकारी प्राथमिकतामा समेत विगतमा बजेटको तुलनामा आगामी आर्थिक बर्षको बजेट भाषणमा सम्बोधन हुनसक्छ ।

छिमेकी मुस्ताङ सहित मनाङ लगाएतका जिल्लाको जस्तै प्राथमिकतामा पर्ने सम्भावना न्यून भएपछि म्याग्दीले पहाडी जिल्ला जस्तै देखिने गोरखा लगाएतका पहाडी जस्तै देखिने जिल्लाले प्राप्त गर्ने सुविधाहरु पाउन सक्छ । गोरखा पनि हिमाली जिल्लामा पर्छ । म्याग्दीका सबै स्थानीय तहलाई हिमाली जिल्लाकै रुपमा सुविधा प्राप्त हुने सम्भावना नभएपनि धवलागिरी गाउँपालिकाका अधिकांस वडा, मालिका, मंगला, रघुगंगा र अन्नपूर्ण गाउँपालिका भित्रका केही वडाहरुलाई हिमाली जिल्लाभित्र बजेट प्राप्त हुनेमा प्राथमिकतामा पर्ने सम्भावना छ ।

सडक सञ्जाल नपुगेका वडा तथा मानव सूचांकमा कमजोर रहेकालाई प्राथमिकतामा राखेर हिमाली जिल्लामा सञ्चालित आयोजनाहरुलाई विस्तार गर्न सक्ने सम्भावना छ । त्यस्तै सरकारी कर्मचारीले दुर्गम तथा हिमाली जिल्लामा सेवा गरेवापत आफ्नो बढुवा तथा सुविधा समेत धेरै हुने भएकाले पनि जिल्लामा आउने निजामति कर्मचारीको आर्कषण समेत बढ्न सक्छ । अहिले घोषणामात्र भएपनि विस्तारै योजनाहरु विस्तारसंगै अन्तराष्ट्रिय जगतमा समेत हिमाली जिल्लामा भ्रमण गर्ने सन्देश प्रवाह हुने भएकाले पर्यटनको क्षेत्रमा समेत सघाउने छ ।

थपिन सक्छन् स्थानीय तहको संख्या
छिमेकी जिल्ला मुस्ताङमा कुल जनसंख्या २० हजार भएपनि पाँचवटा गाउँपालिका छन् । म्याग्दी जिल्लामा कुल जनसंख्या १ लाख १३ हजारको हाराहारीमा हुदाँ समेत मुस्ताङ सरह पाँच गाउँपालिका भएपनि एक नगरपालिका थप छ। हिमाली जिल्ला घोष्णा हुदाँ भुगोल नमिलेका क्षेत्रमा गाउँपालिकाको संख्या थपिने सम्भावना पनि उत्तिकै छ । स्थानीयतहको संख्या बढाउन जिल्लामा राजनीतिक दल तथा सम्बन्धित तहका बासिन्दासंगै विभिन्न प्रक्रियाहरु पुरा गर्नुपर्ने भएपनि हिमाली जिल्लाको सूचकले पनि म्याग्दीले लविङ गर्न सकेमा एकदुईवटा स्थानीय तह बढाउन सक्ने सम्भावना रहेको जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्रबहादुर केसीले बताए ।

उनका अनुसार अन्य हिमाली जिल्ला सरहको सुविधाका लागि दवाव दिनुपर्छ । स्थानीय तहको सम्भावना थपिने अवस्था आएमा रघुगंगा गाउँपालिकाले प्राथमिकता पाउन सक्छ । रघुगंगाको भूगोल अन्य स्थानीय तहको तुलनामा मिलेको छैन् । झिँ, पाखापानी, कुईनेमंगले सहित नगरपालिका भित्रका केही भूभागलाई समेत समेटेर एक गाउँपालिका बनाउन सकिने बहस विगतमा पनि चलेको थियो । जिल्लामा पहाडी भूगोलको जनसंख्याका आधारमा स्थानीय तहको संख्या निर्धारण गर्दा कतिपय वडालाई अहिले पनि आफ्नो गाउँपालिकाको केन्द्रमा पुग्न अपायक परेको छ ।

हिमालकै प्रचार गरेर थुप्रै पर्यटक भित्राउन सकिन्छ
विश्वकै सातौं अग्लो धौलागिरी हिमाल रहेको म्याग्दीमा दर्जनौ हिमश्रंखला छन् । जिल्लाको धवलागिरी गाउँपालिका–४ मुदीमा धौलागिरि प्रथमदेखि छैटौँसम्मका चुचुरा रहेका छन् । मानापाथी हिमालको चुचुरोसमेत मुदीमै पर्छ ।धौलागिरि हिमालले रघुगंगा गाउँपालिकाको कुइनेमंगले र चिमखोलालाई समेत समेटेको छ । जिल्ला सदरमुकाम बेनीदेखि २६ कोष टाढाको दूरीमा रहेको धौलागिरि गाउँपालिका–१ गुर्जामा गुर्जा, गुर्जा पश्चिम, चुरेन र पुथा हिमाल रहेका छन् । पुथा हिमाल म्याग्दीको गुर्जा, डोल्पा र रुकुमको सिमानामा पर्छ । जिल्लाको उत्तरी अन्नपूर्ण गाउँपालिकामा समेत हिमश्रंखला रहेका छन् ।अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अन्नपूर्ण प्रथमको आधार शिविर नै रहेको छ ।

बराह शिखर हिमालसमेत रहेको नारच्याङमा निलगिरि हिमालको दक्षिण र पूर्वी मोहडासमेत पर्छ । अन्नपूर्ण गाउँपालिका–५ शिखको पाउद्वारतर्फको लेकले अन्नपूर्ण दक्षिण भेगलाई समेटेको छ। यिनै हिमालसँगै म्याग्दीमा दर्जनौँ हिमालका चुचुरा रहेका छन् । म्याग्दीमा रहेका हिमाली शृंखलामा ५१ वटा चुचुरा छन् । जिल्लामा बेनी नगरपालिका, मंगला, मालिका गाउँपालिका बाहेक धौलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालिका हिमश्रंखलाले छोएको छ ।

जिल्लाका दुई गाउँपालिकाको नामाकारण समेत हिमालकै नामबाट गरिएको छ । हिमाल आरोहणका लागि आउने आरोही पर्यटकबाट वर्षेनी पाउनुपर्ने रोयल्टी जिल्लामा नआएको भन्दै तत्कालीन जिविसले हिमाली जिल्लामा पर्ने प्रमाणसहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्राललाई पठाइएकाले पनि म्याग्दीमा रहेको हिमालले समेत जिल्लाको प्रचारप्रसारमा सघाउने छ । त्यसैले हिमाली जिल्लामा म्याग्दी सूचिकृत हुदाँ जिल्लाले धेरै किसिमका लाभ लिन सक्छ ।