म्याग्दी जिल्लाको परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई यूके र हङकङबाट घर विदामा आएकाले आर्थिक सहयोग गरेका छन् । जिल्लामा आर्थिक विपन्नताका कारण उपचारमा आर्थिक समस्या झेलेका सर्वसाधारणको उपचारमा आर्थिक सहयोग गदैं आइरहेको कोषमा मोना हङकङका पूर्व कोषाध्यक्ष कर्णबहादुर पुर्जा, यूकेका घन बहादुर गर्बुजा र धनु गर्बुजाले १९ हजार सहयोग गरेका हुन् ।

बिहिबार कोषको कार्यालयमा आयोजित कार्यक्रममा सहयोगदाताले अध्यक्ष राजेश शाक्यलाई रकम हस्तान्तरण गरेका थिए । ‘गरिबीकै कारण उपचारमा आर्थिक समस्या भएर मृत्युवरण गर्नुपर्ने अवस्थाको अन्त्य गर्न सकिन्छ भन्ने सन्देश प्रवाह भएको छ,‘१ सय जनाको उपचारमा सहयोग गरिसकेका छौ’ शाक्यले भने ।

कोषले म्याग्दी जिल्लामा आर्थिक अभावकै कारण उपचारमा समस्या देखिएका म्याग्देलीको उपचारलाई सहज बनाउन विश्वभर रहेका म्याग्देलीलाई अभियानमा जुट्न अपिल समेत गरेको छ । बेनी नगरपालिका–४ की ओमकुमारी शान्ती पुन हाईपोपलास्टिक एनिमिया रोगबाट पीडित भएपछि उपचारमा सहयोग जुटाउन सुरू भएको अभियानको क्रममा निधन भएपछि ओमकुमारीको नाममा स्थापना गरिएको कोषले आर्थिक अभावका कारण उपचारबाट बन्चित भएका म्याग्देलीको उपचारमा आर्थिक जुटाइरहेको छ ।