म्याग्दी खोलामा डुवेर एक बालक बेपत्ता, खोलाबाटै एकको उद्धार

म्याग्दी खोलामा पौडी खेल्ने क्रममा डुवेर एक बालक बेपत्ता भएका छन् । बेनी नगरपालिका वडा नं ७ मंगलाघाटको प्रहरी विट नजिकै साथीहरूसंग पौडी खेल्न पानीमा पसेका अन्नपूर्ण गाउँपालिका वडा नं ८ राम्चे काफलडाँडाका १४ बर्षिय हेमचन्द्र गर्बुजा बेपत्ता भएको प्रहरी नायव निरिक्षक दिपेन सापकोटाले बेनीअनलाइनलाई बताए ।

उनका अनुसार तीनजना साथीहरुसंगै खोलामा पौडी खेल्न गएका गर्बुजाको खोजीकार्य जारी रहेको छ। मंगलाघाटबाट बगरफाँट जोड्ने झोलुङ्गे पुल नजिक पौडी खेलिरहेको अवस्थामा गर्बुजा बाहिर नआएपछि तत्कालै नजिकै रहेको प्रहरी विटबाट प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । बेनी सामुदायिक माविमा कक्षा ९ मा अध्ययरत गर्बुजासंगै खोलामा पसेका धवलागिरी गाउँपालिका वडा नं ५ मल्कवाङ मलम्पारका निरप्रसाद छन्त्याललाई उद्धार गरिएको छ । उद्धार गरिएका छन्त्यालको अवस्था सामान्य रहेकाले आफन्तलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

साँझ करिव ४ बजे पौडी खेल्न खोलामा पुगेको केहीबेरमै साथी बेपत्ता भएको उद्धार गरिएका छन्त्यालले बताएका छन्। मंगलाघाट संरक्षणको क्रममा खोलामा ताल परेपछि बालबालिका पौडी खेल्न जाने गरेपनि उक्त स्थान जोखिमपूर्ण रहेको स्थानीयको भनाई छ । गर्मी मौसममा म्याग्दी खोलामा बर्षेनी पौडी खेल्ने क्रममा स्कुले बालबालिकाको ज्यान जाने गरेको छ । बेनीबजार तथा आसपासका क्षेत्रमा बालबालिकालाई खोलामा पौडी खेल्न नदिन स्थानीय प्रशासनले पटकपटक सचेत बनाउने गरेपनि पालना नहुदाँ घटना हुने गरेको छ। तस्वीर सौजन्य सुमन श्रेष्ठ