माउण्टले आठौं राष्ट्रिय खेलकुदमा छनोट खेलाडीलाई सम्मान

माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयले आठौं राष्ट्रिय खेलकुदका लागि छनोट भएका खेलाडीहरु म्याग्दीको बेनीमा सम्मानित भएका छन् । गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट स्वर्णपदक हात पारी राष्ट्रिय खेलकुदमा छनोट भएका व्यक्तिगत विधा र समूहगततर्फ उत्कृष्ट खेलाडीहरुलाई जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख केसी र बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले अबिर र खादा लगाएर सम्मान गरेका थिए ।

राष्ट्रिय खेलकुदका लागि छनोट हुने भलिबलतर्फ जमानसिङ परियार, उसुतर्फ अनिश अर्मजा, तेक्वान्डोमा ममता गर्बुजा, कबड्डीतर्फ पूर्णकुमारी किसान, लक्ष्मी विक र अमृत सेन्च्युरीलाई सम्मान गरिएको छ । यसैगरी प्रदेशस्तरीय खेलकुदमा पदक लिन सफल सुष्मी पूर्जा, माया तिलिजा, मेनुका तिलिजा, गणेश पुनमगर, अभिशेक बानियाँ, सृजना बराईली, प्रमोद परियार, स्वेता शाक्य, रेट्रोना बानियाँ र सुदिना बुढामगरलाई सम्मान गरिएको थियो ।

आधुनिक संरचना निर्माणसंगै महारानीथानमा शिक्षा

माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयको महारानीथानमा नवनिर्मित भवनमा सोमबार आयोजित कक्षा आरम्भ सहित सम्मान, सांस्कृति कार्यक्रम लगाएत विविध कार्यक्रम गरिएको छ । कार्यक्रमको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले उद्घाटन गदैं शिक्षा क्षेत्रमा निजी विद्यालयको भूमिका महत्वपूर्ण रहेको बताएका थिए । उनले निजी र सामुदायिक विद्यालय बीचको शैक्षिक अनुभव आदानप्रदान गर्नुपर्नेमा जोड दिए । जिसस प्रमुख केसीले शैक्षिक क्षेत्रमा मात्र नभई खेलकुद क्षेत्रको विकासमा पनि विद्यालयले जोड दिनुपर्ने बताएका थिए ।

विद्यालयका एकेडेमिक डाइरेक्टर राजु केसीले माउण्ट एभरेष्टले ठाउँ मात्र परिवर्तन नगरी समग्र शैक्षिक नीतिमा समेत परिवर्तन गरेको बताउँदै कक्षागत सेक्सनलाई पर्यटकीयस्थलको नामाकरण गरिएको जानकारी दिए ।विद्यालयका म्यानेजिङ डाइरेक्टर किरण सापकोटाले विद्यालयको समग्र क्षेत्रको विषयमा प्रकाश पारेका थिए । कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, बेनपा–६ का वडा अध्यक्ष कृष्णबहादुर बानियाँ, ७ का अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, विद्यालयको कक्षा ९ व्यवस्थापन समिति अध्यक्ष राजु बानियाँ, ७ कक्षा अध्यक्ष रामबहादुर खत्री र प्राथमिक तहका अध्यक्ष ज्योती लामिछानेले मन्तव्य राखेका थिए ।

कार्यक्रम माउण्ट एभरेष्टका कार्यवाहक प्रमोद श्रेष्ठको अध्यक्षता, डा. त्रिदिप उपाध्याय र विद्यार्थी आयुष्मा सुवेदीको स्वागत तथा भाइस प्रिन्सिपल अमृत सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो । बेनी नगरपालिका वडा नं ८ हिलसाईडमा अवस्थित विद्यालयले महारानीथानमा खेलकुद मैदान सहित शैक्षिक क्षेत्रलाई आवश्यक पर्ने पूर्वाधार सहित करिव ५ करोडको लागतमा निर्मित भवनबाट शैक्षिक गतिविधि सञ्चालन गर्ने जनाएको छ । विद्यालयले ३ सय सहभागी हुने स्टोडियम, फुटसल सहित ब्यवहारिक ज्ञान अन्तरगत आसपासका क्षेत्रमा पशुपालन समेत गर्ने जनाएको छ ।