सुशीलबाबु थकाली
मुस्ताङ – बाक्लो हिमपातले चरनसमेत पुरिएपछि हिमाली जिल्ला मुस्ताङमा सयौंको संख्यामा भेंडाच्यांग्रालगायत पशु मरेका छन्। लोमान्थाङ गाउँपालिकाको चुङजुङका किसानले पालेका भेंडाच्यांग्रा मरेका हुन्। गाउँका चारजना किसानले पालेका ती भेंडाच्यांग्रा मरेको स्थानीयले बताए। पशु मरेपछि किसानले ठूलो क्षति भोग्नु परेको छ।

चुङजुङ गाउँका किसान नुडाढु गुरुङ र नुडादु गुरुङसहितका किसानले सामूहिक रुपमा पशुपालन गरेका थिए। स्थानीय पेमा गुरुङका अनुसार अहिलेसम्म चार सय ५० भन्दा बडी भेंडाच्यांग्रा मरिसकेको फेला परेको छ। कतिपय अझै हराएका छन्। चरनका क्रममा लेक पुगेका ती पशु बाक्लो हिमपात सुरु भएपछि खर्क झारिएको थियो। तर, खर्कमा पनि हिमपातले गर्दा घास खान नपाएपछि भोकभोकै मरेका हुन्। लगातारको हिउँले पशु पुरिएको समेत उनले बताइन्। चारजना किसान मिलेर सयौं भेंडाच्यांग्रा पालेका थिए। बचेका पशुको अवस्था पनि निकै कमजोर छ,’ उनले भनिन्, ‘किसानले ठूलो नोक्सानी बेहोर्नु परेको छ। दुई–चार पैसा आम्दानी होला भनेर किसानले पशु पालेका थिए। लाखौं कमाइ गुमेको छ।’

हिमपातले गर्दा त्यस क्षेत्रसम्म पुग्नसक्ने अवस्था पनि छैन। बाटो नै अवरुद्ध छ। छिटोभन्दा छिटो बाटो खोल्न सक्ने हो भने बचेका पशुलाई पनि तल झारेर बचाउन सकिने उनले बताइन्। दाना, पानी र घाँस पु¥याउन सक्ने अवस्था पनि अझै नरहेको उनले बताइन्। सदरमुकाम जोमसोमबाट दुई दिन पैदल हिँडेपछि बल्ल त्यहाँ पुगिन्छ।

चिसो बढ्ने भएपछि लेकमा रहेका भेंडाच्यांग्रा गाउँ नजिकको खर्कमा झारिएको थियो। तर, त्यहाँ पनि बाक्लो हिमपातले खर्कसमेत पुरिएको थियो। हिउँ थुप्रिएपछि पशु भोकभोकै मरेका थिए। ‘उच्च भेगमा हिमपात सुरु भएपछि लेकमा रहेका पशुलाई खर्कमा झारिएको थियो। तर, खर्कमा पनि उस्तै हिमपात भयो,’ उनले भने, ‘बुट्यानसमेत पुरिने गरी हिमपात भयो। त्यसपछि आहारा नै बन्द भयो।’

एउटा भेंडाको मूल्य कम्तिमा १५ हजार रुपैयाँ हाराहारीमा पर्छ। त्यस्तै च्यांग्राको मूल्य २५ हजार रुपैयाँ प्रतिगोटा हाराहारीमा पर्छ। भेंडाच्यांग्रा मर्दा करिब ७० लाख रुपैयाँ नोक्सान भएको उनले बताए। ‘जसोतसो बचेका पशु पनि मर्ने अवस्थामा छन्। बाक्लो हिमपात परेदेखि ती पशुले खानसमेत पाएका छैनन्,’ उनले भनिन्, ‘तत्काल दानासमेत पु¥याउने अवस्था छैन।’ जसोतसो हिउँ पन्छाएर बस्तीसम्मको बाटो खुलाउने प्रयास गरिए पनि खर्कसम्म आउजाउ गर्न नसकिएको उनले बताइन्। यसअघि छोन्हुप गाउँको लेकमा पनि झन्डै ६० चौरी मरेका थिए।

लोमान्थाङ गाउँपालिकाका अध्यक्ष सुवर्ण विष्टले कति संख्यामा पशु मरे भन्ने अझै यकिन नभइसकेको बताए। तर किसानले ठूलो आर्थिक क्षति भोगेको उनले बताए। बाटो आउजाउ नै बन्द रहेको र सञ्चार सम्पर्कसमेत टुटेकाले कति संख्यामा पशु मरे भन्ने यकिन नभएको र जानकारी पाउनसमेत नसकेको उनले बताए। तर यो पटक हिमपातले सयौं संख्यामा पशु मरेको उनले बताए। किसानका लागि राहतका कार्यक्रम आवश्यक रहेको विष्टले बताए। त्यसबाहेक बस्तीसम्म पुग्ने बाटो खुलाउने प्रयाससमेत भइरहेको उनले बताए।

मुस्ताङका डिएसपी महेन्द्र खड्काले पनि पशु मरेको जानकारी दिए। यो पटक अचाक्ली हिमपात भएकाले घास, दानापानी खान नपाएरै पशु मरेको उनले बताए। ‘लामो समयदेखि हिउँ पग्लेको छैन। हिउँले पूरै क्षेत्र ढाकिएको छ। अनि घास पलाउने बुट्यान पनि पुरिएको छ,’ उनले भने, ‘पशुले खाने आहारा केही पनि पाएनन्। त्यसपछि भोकभोकै मरेका हुन्। किसानको क्षति निकै नै रहेको छ।’