आठ वर्षसम्म बच्चालाई विद्यतुीय उपकरणबाट टाढै राख्न चिकित्सकको सुझाव

सहरी क्षेत्रमा बालबालिकामा आँखाको दृष्टी कमजोर हुँदै गएको छ । बढ्दो बिद्युतीय ‘ग्याजेट’को प्रयोगले कलिलै उमेरमा अन्धोपनको खतरा पनि बढ्दो छ । सहरी क्षेत्रका ३० प्रतिशत बालबालिकामा दृष्टिदोषको समस्या देखिएको तथ्यांक छ ।

काठमाडौंको त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालमा दैनिक ४० बालबालिका आँखाको समस्या लिएर आउँछन । तिलगंगा आँखा प्रतिष्ठानमा पनि यो संख्या दैनिक एकसय हाराहारी छ । देशभरका अन्य अस्पताल र क्लिनिकमा पनि बाल विरामीको संख्या बढिरहेको छ । बालबालिकाको आँखाको समस्या बढ्नुको मुख्य कारण हो–मोबाइल, ल्यापटप र विद्युतीय ग्याजेट ।

दृष्टिदोष बालबालिकामा बढी देखिने समस्या हो । आँखाको नली थुनिएर आँशु आउनु, आँखाको एलर्जी हुनु र मोतिबिन्दूको समस्या पनि बढिरहेको चिकित्सक बताउँछन् । बालबालिकाको दृष्टि कमजोर हुँदै गएकोले ८ बर्षको उमेरसम्म विद्युतीय उपकरण चलाउन दिन नहुने चिकित्सकको सुझाव छ ।

यदि बच्चाले टिभी हेर्दाहेदै आँखा बन्द गरेर टाउको हल्लाउन थाल्छ भने त्यो पनि आँखा कमजोर भएको लक्षण हो । पोल्नु, दुख्नु वा निरन्तर पानी बग्नु पनि आँखा कमजोर भएको लक्षण हो । विशेषज्ञका अनुसार समस्या नदेखिए पनि एक वर्ष नपुग्दै बालबालिकाको आँखा परीक्षण गराउनु पर्छ ।

बच्चा रुँदा धेरै अभिभावक मोबाइलमा ‘गेम’ खेल्न दिएर फकाउँछन् । तर, त्यही मोबाइल बच्चाको आँखा खराब बनाउने मूल कारण बनिरहेको छ । यो बानीले तत्काल केही जटिलता नदेखिए पनि भविष्यमा आँखासम्बन्धि समस्या मात्र होइन अन्धोपनसमेत निम्त्याउन सक्छ ।