एनजिओका संचालकको बदमासी- सुत्केरी कर्मचारीलाई बिदाको सट्टा बर्खास्त

सुवास आचार्य/ नेपालमा महिला अधिकारको सबैभन्दा बढी नारा बोक्ने भनेको गैरसरकारी संस्था नै हुन् । महिला अधिकारको प्रसंग उठ्दा नेपाली एवं अन्तरास्ट्रिय गैरसरकारी संस्थाको नाम निकट भएर आउँछ ।  कतिपयले महिलाको अधिकारको आवाज नै गैरसरकारी संस्था हो भनेर बुझिआएका छन् । तर यहाँ एक गैरसरकारी संस्थाले सुत्केरी भएकै कारण आफ्नो कर्मचारीलाई बर्खास्त गरिदिएको छ ।
बेनीस्थित संगम (Sustainable Approach on Natural Resource and Gender Awareness for Micro Enterprise) नामको गैरसरकारी संस्थाले सुत्केरी कर्मचारीलाइ बर्खास्त गरिदिएको हो ।गुड नेवर्स इन्टरनेसनल नेपालले संस्थासँग गरेको साझेदार कार्यक्रम समुदाय विकास परियोजनाअन्तर्गत लेखा तथा प्रशासकीय अधिकृत अनिता शर्मालाइ हटाइ नयाँ कर्मचारीको लागि आवेदनसमेत खुल्ला गरिसकेको छ ।
प्राप्त प्रमाणअनुसार अधिकृत शर्माले आफूले सुत्केरी बिदा पाउँ भनी दिएको निवेदनमा संस्थाले बिदा दिन नसकिने भनी जवाफ फर्कायो । शर्माले पुन: कारण सोधेपछी संस्थाको अध्यक्ष दिपक पौडेलको नामबाट कार्यसम्पादन मुल्यांकनका आधारमा कर्मचारीबाट हटाइएको भनी पत्र आयो । सुत्केरी बिदाको लागि दिइएको निवेदन शर्माको लागि कर्मचारीबाट हटिनुको प्रमुख कारण भएको स्पोष्टोक्ती छ । गत वर्षदेखी लेखा तथा प्रशासन अधिकृत सम्हालेकी शर्माको अंग्रेजी पात्रो अनुसारको गत डिसेम्बरसम्मको सम्झौतापत्र छ ।
परियोजनाको म्याद थप भैनसकेको कारण शर्मालगायत सम्पुर्ण कर्मचारीको करार म्याद डिसेम्बरसम्म नै छ । तर शर्माले गत जनवरी महिनामा समेत कार्यालयको काम गरिरहेको देखिन्छ । परियोजना नविकरण भएपश्चात कर्मचारीहरुको करार पनि स्वत: नविकरण हुने प्रावधान छ । तर अध्यक्ष पौडेलले कर्मचारी छनोट र निश्कासनसम्बन्धी संस्थालाइ पूर्ण अधिकार भएको बताउँछन् । पौडेलले पठाएको कारणमा हराएको ल्यापटप र बोरा, सियो, धागोको लागि आफूलाइ मेल आएको एवं कार्यसम्पादन सहि ढंगले निर्बाह नगरेको उल्लेख छ ।
शर्मा भने गत वर्ष फिल्डमा जाँदा हराएको ल्यापटपको सट्टा आफूँले नयाँ खरिद गरि उपलब्ध गराइसकेको र सुरुवातमा सानो नगदी किताब खडा नगरिएकोले बोरा, सियोको मेल गएको तर तत्कालै किताब बनाइसकेका कारण यसलाई मुद्दा बनाउन खोज्नु हास्यास्पद भएको बताउछिन् । साथै यी कुराहरु गत वर्ष नै समाधान भैसकेको तर संस्थाले पुरानो कुरा कोट्याएर आफ्नो कमजोरी देखाउन खोजेको आरोप छ । विभिन्न बहाना बनाउदै सस्थाले बेलाबेलामा गर्ने ब्लाकमेलले आफू प्रसव पिडामा हुँदा समेत थप मानसिक पीडा भोग्नुपरेको शर्माको दुखेसो छ ।
कानुन अनुसार सुत्केरी महिलाले आफ्नो बिदाको पूर्ण प्रयोग गर्न पाउछन् । हामीलाइ नाम उल्लेख नगर्ने सर्तमा प्राप्त अर्को विवरणअनुसार संस्थाले कर्मचारीबाट संस्था विकासको नाममा मासिक नगद पैसा असुल्ने गरेको सुचनासमेत प्राप्त भएको छ । करारमा कुनै सम्झौता नभए पनि अनिवार्य रुपमा ५ प्रतिशतका दरले कर्मचारीहरुलाई रकम बुझाउन दवाब आइरहेको उनी बताउँछन् । उनका अनुसार पैसा व्यक्तिगत रुपमा नगद वा बैंकमार्फत मासिक तलब बुझेकै दिनमा बुझाउँदै आएको बताउँछन् ।
तर यसवारे अध्यक्ष पौडेल भने संस्था विकास कोषको लागि आफूले कुनै दवाब नदिएको र अनिवार्य नभएको बताउँछन् । स्वतस्फूर्त रुपमा कर्मचारी आफैले रकम दिने गरेको र नदिनेहरुको लागि आफूले कुनै करकाप नगरेको बताउँछन् । पौडेलका अनुसार संस्थाले नै कर्मचारीको लागि उक्त पैसा र थप गरि कर्मचारीहरुलाइ नै सहयोग गर्दै आइरहेको छ भने यदी कोही कर्मचारी आफूले बुझाएको पैसाको प्रमाणसहित आएमा पूरै पैसा फिर्ता दिनसकिने समेत बताएका छन् ।