परोपकारी संस्था ओमकुमारी शान्ति कोषको टोली आर्थिक सहयोग जुटाउन चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा जाने भएको छ । मोना हङकङको २० औं बार्षिकउत्सवको अवसरमा फेब्रुअरी २४ तारिकमा आयोजित कार्यक्रममा सहभागी हुन जाने कोषका अध्यक्ष राजेश शाक्य र सचिव लोकेश पुनमगरलाई बिहिबार एक कार्यक्रमका बीच विदाई गरिएको छ ।

विदाई कार्यक्रममा बोल्दै कोषका अध्यक्ष शाक्यले हङकङमा रहेका म्याग्देली सहित नेपालीलाई कोषको अभियानका बारेमा जानकारी गराउने बताए ।उनले कोषमार्फत भइरहेका गतिविधिको जानकारी सहित १ करोड ५० लाखको अक्षयकोष स्थापनाको अभियानमा समेत सहयोग माग्ने बताए । आर्थिक अभावकै कारण म्याग्देलीलाई उपचारमा समस्या हुन नदिने गरी दिर्घकालिन कोषको योजना बनाएका छौ,‘विश्वभर रहेका म्याग्देलीबाट सहयोग प्राप्त भइरहेको छ’ उनले भने ।

उनले उपचारमा हालसम्म प्रति विरामी न्यूनतम ५ हजार देखी ४० लाखसम्म खर्च भएको बताए ।बेनी नगरपालिका–४ सिंगाकी ओमकुमारी शान्ती पुन हाईपोपलास्टिक एनिमिया रोगबाट पीडित भएपछि उपचारमा सहयोग जुटाउन सुरू भएको अभियानको क्रममा निधन भएपछि ओमकुमारीको नाममा स्थापना गरिएको थियो ।कोषले हालसम्म १ सय १० जनालाई आर्थिक सहयोग तथा उपचारको अभियान सञ्चालन गरेको छ ।संस्थाको विधानमा ब्यक्तिगत २ लाख र संस्थागत ३ लाख सहयोग गर्नेलाई संरक्षक घोषणा गर्ने प्रावधान रहेको छ ।

हङकङमा हुने कार्यक्रममा मोना आइसीका संस्थापक अध्यक्ष तेजप्रकाश पुनले २ लाख र मोना हङकङका बरिष्ठ उपाध्यक्ष प्रमोद गिरीले २ लाख सहयोगको घोषणा गदैं संरक्षक लिने भएका छन् । हालसम्म संस्थागत संरक्षकमा मोना कतार, मोना जापान, मोना जापान क्षेत्रीय समिति नागोया, म्याग्दी उद्धार समिति बहराइन, मोना नेदरल्याण्ड, मोना फ्रान्स, मोना बेल्जियमले आजिवन सदस्यता लिएका छन भने ब्यक्तिगत रुपमा संरक्षक बन्नेको संख्या समेत बढ्दै जान थालेको छ ।

कोषमार्फत ब्लड क्यान्सर, मुटु, मृगौला, हाडजोर्नी, आँखा, नशा लगाएत विभिन्न किसिमका रोगको उपचारमा भइरहेको छ। आर्थिक अभावका कारण घरमै थलिएका विरामीलाई समेत सहयोग गरी उपचारमा सघाउने गरिएको छ । कोषले आर्थिक संकलन गरी उपचार गरेका विरामीले निको भएर फर्किने बेलामा आजिवन सदस्यता लिने गरेका छन् । विदाई कार्यक्रमको अध्यक्षता कोषका उपाध्यक्ष हरिकृष्ण गौतम र सञ्चालन सहसचिव विनय श्रेष्ठले गरेका थिए ।