एनसिसि बैंकले ग्राहक विरामी भए उपचारमा १० हजारसम्म खर्च दिने

नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एन सि सि बैंक) लिमिटेडले ग्राहकलाई १० हजारसम्मको निशुल्क स्वास्थ्य बिमाको सुविधा सहितको योजना ल्याएको छ । नेपाल राष्ट्र बैंकबाट क वर्गको इजाजत प्राप्त बैंकको देशभर रहेका शाखामा बचत तथा मुद्घती खाता खोली कारोवार गर्ने प्रत्येक ग्राहकलाई उपचारमा सघाउने गरी १० हजार सम्मको निशुल्क स्वास्थ्य बिमा सुविधा रहेको बैंकका बेनी शाखा प्रबन्धक लक्ष्मण शर्माले बताए ।

‘विरामी भएर अस्पतालमा भर्ना भएका विरामीलाई उपचारमा सघाउने योजना ल्याइएको हो,‘विरामीले उपचारमा खर्च गरेको विवरण पेश गरेमा बैंकले खातामा जम्मा गरिदिन्छ’ शर्माले बेनीअनलाइनलाई भने । उनका अनुसार खाता खोलेका ग्राहकले हस्पीटलमा कम्तीमा १ दिन भर्ना भएको अवस्थामा देशभर रहेका जुनसुकै अस्पतालमा उपचार गराएमा सुविधा लिन सकिन्छ ।

बैंकले एकाघरका बच्चा देखि बृद्घ सम्पुर्ण परिवारका सदस्यको निशुल्क खाता खोलेर उपचार खर्चमा ऋण खोज्नु्पर्ने अवस्थाको अन्त्य गर्ने योजनाले ग्राहकलाई आर्कषित गरेको बताए । उनले खाता खोलेर डेबिट कार्ड लिएका ग्राहकहरुलाई प्रतिष्ठित हस्पिटल नर्भिक इन्टरनेशनल हस्पीटल एण्ड मेडिकल कलेज प्रालि काठमाडौ, नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि काठमाडौ, ओम हस्पीटल एण्ड रिसर्च सेन्टर प्रालि काठमाडौ मा उपचार गराउदा कुल उपचार खर्चको १० देखि ३० प्रतिशतसम्म छुट हुने बताए ।

बेनीमा शाखा स्थापना गरेको छोटो अवधिमै बैंकले ग्राहकको संख्या दिनप्रति दिन बढेको जनाएको छ । देशभर १२२ वटा शाखा कार्यलयमार्फत पुर्व मेचिदेखि पश्चिम महाकाली सम्म सातै प्रदेशमा बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ । आकर्षक ब्याजदरमा निक्षेप संकलन गर्नुका साथै सर्वशुलभ दरमा कर्जा प्रवाह गरेको छ । ग्राहकको सुविधालाई मध्यनजर गरी घरदैलोमै पुगेर समेत खाता खोल्ने जनाएको छ ।