भलिबल खेलाडी राजु शेरचन हङकङमा सम्मानित

राष्ट्रिय भलिबल खेलाडी राजु शेरचन सहितको टोली हङकङमा सम्मानित भएका छन् । हङकङमा पुगेका म्याग्दीको मंगला गाउँपालिका ५ अर्मनका शेरचन र नेपाल राष्ट्रिय फुटबल टिमका कप्तान बिराज महर्जनलाई एक कार्यक्रमका बीच सम्मान गरिएको हो । सम्मान कार्यक्रममा बोल्दै भलिबलका शेरचन र फुटबलका महर्जनले खेलकुद क्षेत्रबाट देशलाई चिनाउने प्रयासमा थप उर्जा मिलेको बताएका थिए ।

‘सम्मानबाट उत्साहित छु,‘आफ्नै जिल्लाबासीले सम्मान गर्नुभएको छ’ शेरचनले बेनीअनलाइनलाई भने । उनले भलिबल खेलमा जिल्लाको सम्भावनाका बारेमा समेत कुराकानी भएको बताउँदै आफ्नो क्षमताले भ्याएसम्म भलिबलमा राम्रो गर्ने बताए ।

सम्मान कार्यक्रममा मोना हङकङका अध्यक्ष कर्ण पुन लगाएत कार्यसमिति सदस्य, मोना एफसीका पदाधिकारीको उपस्थिती रहेको थियो । अर्मन टिकावाङमा जन्मिएका शेरचनले विद्यालय उमेरमै गाउँघरमा लाग्ने मेलामा आयोजित भलिबल खेलमा सहभागि हुदै रोजगारको सिलसिलामा कतार पुगेर फर्किएका थिए । राष्ट्रिय भलिबल टोलीमा समावेश भएपछि शेरचनको लोकप्रियता चुलिएको छ ।