म्याग्दीबाट पोखरा जादैं हुनुहुन्छ ? आगामी फागुन महिनादेखि यो तालिका प्रयोग गर्नुहोस्

म्याग्दीबाट पोखरा जादैं हुनुहुन्छ ? यदी तपाईले पुरानै कार्यतालिका अनुसार यात्रा गर्नुभयो भने बाटोमै अलपत्र पर्न सक्नुहुन्छ । साविकको धौलागिरी अञ्चलभित्रको म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वतलाई राष्ट्रिय राजमार्गसंग जोड्ने मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा आगामी फागुन १ गतेदेखि बन्दको नयाँ तालिका सार्वजनिक भएको छ । दैनिक १० बजेदेखि ४ बजेसम्म लगातार बन्द हुँदा यात्रुहरुलाई असहज भएको भन्दै आगामी फागुन १ गतेदेखि बीचको समयमा पनि सडक सुचारु गर्ने गरि नयाँ तालिका सार्वजनिक भएको हो ।

जिल्ला समन्वय समिति पर्वतका संयोजक मनोहर वि। पौडेलको अध्यक्षतामा बसेको सर्वपक्षिय बैठकले लगातार ७ घण्टाको यातायात सेवा बन्द हुँदा यात्रुहरुलाई असहज भएको भन्दै बिहान १० बजेदेखि २ः३० बजेसम्म बन्द गर्ने र २ः३० बजेदेखि ४ः३० बजेसम्म खुला गर्ने साथै ४ः३० बजेदेखि साँझ ६ः३० बजेसम्म यातायात बन्द गर्ने गरि निर्णय गरेको छ । सडक बिस्तारका लागि पर्वतको सिमाना अँधेरीखोलादेखि अर्मादीसम्म सबै ठाउँमा एकिकृत ढंगले काम सुचारु गर्ने समेत निर्णय भएको हो ।

लोकमार्गको पर्वत खण्डमा पर्ने डिमुवादेखि बेतनी बीचको माहुरी भिरमा सडक फराकिलो बनाउने काम अझै द्रुत गतिमा काम गर्ने साथै चुवा भिर र अर्मादीको भिर कटान पनि एकै पटक गर्ने गरि व्यवस्था मिलाउन माग गरेको छ । साथै वैकल्पिक सडक खोल्न सकिने ठाउँहरुमा बैकल्पिक सडक निर्माण गरि यातायात सेवालाई संचालन गराउने गरि तय गर्न मध्य पहाडी लोकमार्ग कायान्वयन ईकाई पर्वत र निर्माण कम्पनी लामा कन्ट्रक्सनलाई व्यवस्था गर्न आग्रह गरेको छ ।

बैठकमा सरोकारवालाहरुले सडक निर्माण कार्यप्रभावित नहुने र यात्रुलाई समेत सास्ती नहुने गरि निर्माण अगाडी बढाउन सुझाब दिएका छन । जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बिश्वकर्मा पौडेलले आयोजनाको काम तोकिएकै समयमा सक्नुपर्ने तर नागरिकलाई समेत मर्का नपरी काम गर्न आग्रह गर्नुभयो । ‘नागरिकलाई दुःख नहुने गरि सकेसम्म बैकल्पिक सडक बनाएर काम गर्नुपर्छ’ उहाँको भनाई थियो । प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले सडक बिस्तारको काम समयमा सक्ने वातावरण बनाउन आग्रह गर्नुभयो ।

आयोजनाको पर्वतको प्रवेशद्वार देखि मालढुंगा सम्मको २३ दशमलब ७६९ किलोमिटर स्तरउन्नतीको काम लामा कन्ट्रक्सन प्रालिले जिम्मा लिएको छ । कम्पनीले ८३ करोड ९८ लाख रुपैयामा पर्वत खण्ड स्तरउन्नतीको कामको ठेक्का लिएको छ । अहिले सम्म ३३ प्रतिशत काम सकिएको म्यानेजर गोबिन्दप्रसाद भुसालले जानकारी दिनुभयो । अहिले सबै ठाउँबाट काम शुरु गरिएको र दशै तिहारपछि कामलाई अझै तीब्र बनाउने काम भैरहेको निर्माण कम्पनीले जनाएको छ । ‘हामीले असार सम्ममा ९० प्रतिशत काम सक्ने लक्ष्य सहित काम गरिरहेका छौ।’ उहाँले भन्नुभयो –‘कार्तिक र मंसिरमा काम केही सुस्त भएपनि कम्तीमा ८० प्रतिशत सक्ने योजनामा छौ’

मध्यपहाडी लोकमार्ग आयोजनाले ७२ किलोमिटर लामो पोखरा बागलुङ्ग खण्ड लाई नयाँ स्वरुपमा ढाल्ने गरि मर्मत सम्भार तीब्र पारिरहेको छ । लोकमार्ग पुरै नयाँ स्वरुपमा बिस्तार र स्तरोन्नती गर्न चारवटा प्याकेज बनाएर काम भैरहेको छ । मध्यपहाडी सडक आयोजनाले दिएको जानकारी अनुसार तीन वर्ष पोखरा–बागलुङ खण्डको धेरैजसो भाग पुरै नयाँ बन्नेछ । सवारी साधनको चाप बढेका कारण साँघुरो सडकमा ठाउँठाउँमा जाम समेत हुने गरेको थियो । साँघुरो सडक र ठाउँठाउँमा भासिँदा सवारी संचालनमा समेत जोखिम थियो ।