प्रधानाध्यापकको कुटाईबाट विद्यार्थी बेहोस, शिक्षक बने सम्पर्कविहीन

प्रधानाध्यापकको कुटाईबाट पाँचथरकोे फिदिम माध्यामिक विद्यालयका विद्यार्थी घाइते भएका छन् । बिद्यालयको बेन्च तोडफोड गरेको भन्दै प्रधानाध्यापक दुर्गा खत्रीको कुटाईबाट कक्षा ९ का विद्यार्थी रोहित राई गम्भीर घाइते भएका हुन् ।

कुटाइबाट विद्यार्थी राईको शरीरमा निलडाम हुनुका साथै टाउकोमा चोट लागेको छ । कुटाइबाट बेहोस भएका विद्यार्थी राईलाई विद्यालयका शिक्षकले अस्पताल पुर्याएका थिए । विद्यार्थीको शरीर र टाउकोको चोटको गहिराईका बारे भने १८ घण्टापछि मात्र भन्न सकिने अस्पतालले जनाएको छ ।

विद्यार्थीलाई कुट्ने प्रधानाध्यापक खत्री भने सदरमुकाम बाहिर गएको विद्यालयले जनाएको छ । घाईते राईलाई उपचारका लागि जिल्ला अस्पतालमा पाँचथरमा भर्ना गरिएको छ ।विद्यार्थी बस्ने बेञ्च बङ्ग्याएको विषयमा प्रधानाध्यापक खत्रीले बिहीबार कक्षा ९ का रोहित राईलाई सोधपुछ गर्नुका साथै कुटपीट गरेका थिए । तर राई उक्त कार्यमा संलग्न नरहेको अन्य विद्यार्थीहरले बताएका छन् । सोधपुछको क्रममा रोहित राईलाई प्रधानाध्यापक खत्रीले धेरै कुटपीट गरेको अभिभावक र उनका सहपाठीको भनाइ छ ।

राईसँगै कक्षा ९ मा अध्ययनरत विद्यार्थी निशान सापकोटाका अनुसार सोही विद्यालयका कक्षा १० मा अध्ययनरत विद्यार्थीका कारण बेञ्च वाङ्गिएको थियो । यद्यपि कक्षा ९ कै विद्यार्थीले २०/ २० रुपैयाँ सङ्कलन गरी बेञ्च मर्मत गराएका छन् । फिदिम डेरा गरी कक्षा ९ मा अध्ययन गर्दै आएका राई मिक्लाजुङ गाउँपालिका–४ रविका हुन् । उनको उचारमा संलग्न डाक्टरका अनुसार उनी आफुलाई रिंगटा चलिरहेको समस्या बताउदै आएका छन् ।

डाक्टरहरुका अनुसार “टाउकोमा समस्या भएको भए सिटी स्क्यान गर्नु पर्ने छ । गल्ती गरेको छैन भन्दा शिक्षकले एक्कासी मुड्की प्रहार गरेको सोही कक्षाका अन्य विद्यार्थीहरुले बताएका छन् । गत बर्ष सोही स्कुलमा एक शिक्षकले बिद्यार्थीलाई बक्सीङ प्रहार गरेका थिए ।