बेनीबजार संरक्षण गर्न चार प्याकेजमा निर्माण

नेपालको उच्च जोखिम युक्त सदरमुकामको रुपमा रहेको म्याग्दीको सरदमुकाम बेनी बजारको संरक्षणका लागि तटबन्धन निर्माण कार्य सुरु भएको छ । पोखराको रुपा ताल एकिकृत संरक्षण विकास परियोजनासँग सम्झौता गरी उपभोक्ता समिती मार्फत शुक्रबारदेखि काम सुरु गरिएको हो ।

चारवटा उपभोक्ता समिति गठन गरि निर्माण कार्य थालिएको बेनी नगरपालिका वडा नं ८ का अध्यक्ष एवम् नगरपालिकाका प्रवक्ता रामकृष्ण बराइलीले बताए ।ठेक्का प्रक्रियाबाट योजना कार्यान्वयन गर्दा बढी समय लाग्ने भएकाले चार वटा प्याकेजमा विभाजन गरि उपभोक्ता समिति मार्फत योजना कार्यन्वयनलाई अगाडी बढाइएको उनको भनाइ थियो ।

२ करोड ८५ लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको आयोजनामा स्थानियको १० प्रतिशत श्रमदान रहने वडाअध्यक्ष बराइलीले बताए । तीन महिना (बैशाख) सम्ममा  सक्ने सम्झौता भए पनि उपभोक्ता समितिले डेढ महिनामा नै निर्माण सम्पन्न गर्ने गरी फास्ट ट्रयाक मार्फत निर्माण कार्य अगाडी बढाइने  गणेश टोल कालिगण्डकी संरक्षण उपभोक्ता समितिका अध्यक्ष उत्तमकुमार कर्मचार्यले जानकारी दिए ।

बेनी नगरपालिकाको वडा नं ७ र ८ मा पर्ने कालिगण्डकी नदिको किनारमा १ सय ७१ मिटर ग्याविनसहितको अस्थाई पर्खाल र पहिलेको कंक्रिट पर्खाल संरक्षणका लागि १ सय ८० मिटरमा जाली विछ्याइने उपभोक्ता समितिका अध्यक्ष कर्माचार्यले बताए ।