प्रतिकुल मौसमका कारण राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता स्थगित

प्रतिकुल मौसमका कारण शुक्रबारदेखि सुरु हुने मंगला गाउँपालिका प्रथम राष्ट्रपति रनिङ शिल्ड अन्तर माविस्तरीय प्रतियोगिता (माघ २५ देखि २७ गते) स्थगित भएको छ । बिहिबार विहानैदेखिको बर्षाले आवश्यक तयारीका साथै खेलकुद गतिविधि नै प्रभावित हुने भएपछि अर्को सुचना जारी नहुदाँसम्म प्रतियोगिता स्थगित गरिएको गाउँपालिकाका सुचना अधिकृत राजेन्द्र आचार्यले बताए ।

‘शनिबारसम्म मौसममा सुधार नहुने बताइएको छ,‘अर्को सुचना जारी गरेर प्रतियोगिता गछौ’ आचार्यले भने । उनका अनुसार जल तथा मौसम विभागले बिहिबारदेखि तीनदिनसम्म बर्षा हुने बताएपछि गाउँपालिका अध्यक्ष सतप्रसाद रोका लगाएतको उपस्थितिमा भएको तयारी छलफलमा प्रतियोगितात्मक खेललाई बर्षाले सहज नहुने भएकाले पनि प्रतियोगिता स्थगित गरिएको बताए ।

प्रतियोगिता स्थगित भएको बारेमा गाउँपालिका भित्रका सबै मावि विद्यालयलाई जानकारी पठाइएको छ । मंगला खेलकुद विकास समितिका अध्यक्ष श्यामसुन्दर कँडेलले प्रतियोगिताको तयारीमा रहेका विद्यालयलाई अनुकुल मौसम भएपछि अर्को बैठकबाट मिति तय हुने बताए । मंगला खेलकुद गतिविधिमा अब्बल मानिन्छ । जिल्लास्तरीय प्रतियोगितामा समेत मंगला गापा अन्तरगतका विद्यालयले सानदार खेल प्रर्दशन गर्ने गरेका छन्। भलिबल, एथ्लेटिक्स, कबड्डी लगाएतका खेलहरु सञ्चालनका लागी समेत स्थान छनौट सहित आवश्यक तयारी गरिएको थियो ।