नाबालक छाेराले रुँदै भने : “मेरो बाबालाई किन आगो लगाउने”

जिल्लाको शिखर नगरपालिका–११, तल्लीसातका २६ वर्षीय तेजबहादुर जोराको मङ्गलबार निधन भयो। गाउँभरी सबैतिर रुवाबासी चलेको थियो। तर उनका सानो उमेरका अञ्जान छोरा अनिश जोरालाई भने यो कुरा अञ्जान जस्तै थियो। उनलाई के हुँदैछ भन्ने कुराको कुनै जानकारी पनि थिएन। घरबाट शव यात्रा सुरू भयो, बुवाको शवलाई काँध हाल्न गाउँलेले अनिशलाई सघाए।

 

शवयात्रासँगै उनी पनि मसानघाट पुगे। तर के भइरहेको छ भन्ने कुराको कुनै भेउ पाएका थिएनन् उनले। उनी त्यतिबेला आत्तिन्छन् जब बुवालाई चितामा सजाएर ‘आगो लगाउ’ भन्दै उनको हातमा राँको दिइयो। त्यतिबेला उनले मार्मिक प्रश्न गरे, ‘मेरो बाबालाई किन आगो लगाउने रु’ उनी आगोले बाबाको शरीर पोल्छ भन्दै आगो लगाउन मानिरहेका थिएनन्।

परिवारका अन्य सदस्यले सम्झाइबुझाइ गर्दा अनिश बुवाको चितामा आगो लगाउन त तयार भए तर ‘बाबा, बाबा’ भन्दै चिच्याउँन थाले। उनी बाबालाई किन आगो लगाएको भन्दै चिच्याइ रहेका थिए। तर उनले सोधेको प्रश्नको उत्तर दिने कसैमा हिम्मत थिएन।

उनका बुवा ८ महिना अघिदेखि क्यान्सरको रोगबाट पीडित थिए। १४ वर्षको उमेरदेखि रोजगारीको सिलसिलामा भारत आउजाउ गर्ने तेजको आठ महिना अघि बायाँ पाखुरा दुख्न थाल्यो। उनले भारतमै जाँच गराउँदा पाखुराभित्र गानो भएकाले शल्यक्रिया गर्नुपर्ने चिकित्सकले सल्लाह दिए ।

तेजले सोही अनुसार गरे पनि । तर त्यो निको हुनुको सट्टा झन बल्झियो र क्यान्सर देखियो । उपचारका लागि तेजले भारतको चेन्नई ब्याङ्लोर र नेपालको चितवनसम्म धाए तर कुनै सुधार भएन। अन्ततः उनको मृत्यु भयो। गरिबीका कारण डोटीलगायत यहाँका अन्य पहाडी जिल्लाका स्थानीयवासीले समयमै उपचार नपाउँदा क्यान्सर जस्तो प्राणघातक रोगबाट अकालमै ज्यान गुमाउन थालेका छन्। Nagariknews.com