बेनीमा प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू (फोटो फिचर)

बेनी नगरपालिका अन्तर माविस्तरीयस्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड अन्तर माविस्तरीय छात्रछात्रा प्रतियोगिता सुरू भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, कृषि, पर्यटन र पूर्वाधार स्वच्छ, समृद्ध बेनी नगरको मूल अधार भन्ने मूल नारासहित खुल्लामञ्चमा सञ्चालित प्रतियोगिताको गण्डकी प्रदेशका सांसद विनोद केसीले उद्घाटन गदैं हरेक स्थानीय तहमा ब्यवस्थित खेलकुद मैदानका लागी प्रदेश सरकारले प्राथमिकतामा राखेको बताएका थिए ।

उनले गण्डकी प्रदेश खेलकुदको क्षेत्रमा सम्भावना भएकाले पनि खेलकुदको पूर्वाधार तथा ग्रामिण क्षेत्रमा रहेका खेल प्रतिभालाई उजागर गर्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले स्थानीय तहस्तरीय प्रतियोगितामा छनौट भएका खेलाडीको खेललाई प्रदेश सरकारले समेत अवसरमा प्राथमिकता दिने बताए ।

उनले वर्तमान सरकारले देशमा सम्भावना भएका क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने बताउँदै म्याग्दीभित्रका स्थानीय तहमा रहेका खेलाडीलाई प्रदेशबाट अवसर दिलाउन आवश्यक सहयोग गर्ने बताए । उद्घाटन कार्यक्रममा नेकपाका नेता हरिकृष्ण श्रेष्ठ, नेपाली कांग्रेसका सचिव क्याप्टेन मीन बहादुर कार्की, प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्मा लगाएतले मन्तब्य राखेका थिए ।

प्रतियोगिता संयोजक वडा नं ७ का अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले खेलकुदका बारेमा जानकारी, उपमेयर सञ्जु बरुवालको स्वागत, नगरपालिका शिक्षा शाखा प्रमुख विश्वप्रकाश रेग्मीको सञ्चालन र मेयर करिकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । प्रतियोगितामा भलिबल, एथ्लेटिक्स, कबड्डी तथा मार्सल आर्ट अन्तर्गत तेक्वान्दो, कराँते र उसु प्रतियोगिता गरिने छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ५० हजार, ३५ हजार र २५ हजार रुपैयाँसहित रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने छ ।