सियानालाई ओमकुमारी शान्ति कोषले कलेजो दिने (भिडियो)

जन्मिएको ५ महिनामै कलेजोमा समस्या देखिएपछि भारतमा उपचार गराइरहेकी अन्नपूर्ण गाउँपालिका–७ हिस्तान औलकी सियाना रन्तिजालाई म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले कलेजो दिने भएको छ । पित्त थैलीमा समस्या देखिएपछि नेपालमै उपचार भइरहेको अवस्थामा कलेजोमा समस्या देखाएपछि थप उपचारका लागी भारतको न्यु दिल्लीस्थीत सर गंगाराम अस्पतालमा भर्ना भएकी रन्तिजाको उपचारमा स्वदेश तथा विदेशमा आर्थिक सहयोग जुटेपनि कलेजो प्रत्यारोपणका लागि परिवारको कसैको पनि म्याच नभएपछि समस्या भइरहेको थियो ।

उपचारसंगै कलेजो प्रत्यारोपणमा ओमकुमारी शान्ति कोषले कलेजो प्र्रत्यारोपणका लागी डोनरको ब्यवस्था गरिएको कोषका अध्यक्ष राजेश शाक्यले बताए ।‘सियानाले कलेजो दिएर नयाँ जीवन दिदैछौ,‘कोषले उपचारमा २ लाखको हाराहारीमा खर्च गरेको छ,‘डोनरको सहयोग अमुल्य छ’ शाक्यले बेनीअनलाइनलाई भने ।

उनका अनुसार शुक्रबार हुने प्रत्यारोणका लागि कोषले दिने कलेजोका लागी चारपटकसम्म चोकजाँच सहित सम्पूर्ण तयारी पुरा भएको छ । भारतमा डा.निमेश र डा. बिशालले सियानालाई करिव १८ घण्टामा प्रत्यारोपण गर्नेछन् । ‘प्रत्यारोपणपछि हाम्रो घरमा खुसी फर्किने छ,‘ओमकुमारी शान्ति कोषको अमुल्य सहयोग पाएको छु’ रेश्मा शेरपुञ्जा रन्तिजाले बेनीअनलाइनलाई भनिन् । उनले छोरीको थप उपचार, नियमित चेकजाँच सहित आवश्यक खर्च अपुग भएको बताईन् ।

उनले थप १५ लाख आवश्यक पर्ने भएपछि कलेजोको प्रत्यारोपणपछिको खर्चका लागि अपिल समेत गरिन् । उनका अनुसार छोरीको उपचारमा करिव ३० लाख आर्थिक सहयोग प्राप्त गरेको बताइन् । प्रत्यारोपणपछि ३० दिनसम्म अस्पतालमा बस्नुपर्ने, नियमित औषधी, संक्रमणलाई रोक्न लगाएतका खर्च हुने बताईन् । उनले करिव ६ महिना भारतमै बसेर नियमित उपचार गर्नुपर्ने चिकित्सकले बताएको बताईन् ।

प्रत्यारोणपछि के–के हुन्छ
प्रत्यारोपणपछि डोनर र सियानालाई चिकित्कसले समेत निगरानी गर्नुपर्छ । डोनरको कलेजोको करिव ३० प्रतिशत सियानामा प्रत्यारोपण गरिन्छ । डोनर ३ दिन आइसियूमा र ११ दिन अस्पतालमा बसेर डिस्र्चाज हुनेछन् भने सियाना ३० दिन अस्पतालमै चिकित्सकको उच्च निगरानीमा बस्नेछन् । चिकित्सकका अनुसार डोनरले ३ महिनासम्म समय समयमा चेकजाँच गर्नुपर्ने छ । कलेजो पुरानै अवस्थामा आउन करिव ६ महिना लाग्ने छ ।

डोनरलाई प्रत्यारोपणको समयमा करिव ८ देखि १२ घण्टासम्म लाग्ने अनुमान गरिएको छ । सियानाको प्रत्यारोपणपछि बाँच्ने सम्भावना ७५ देखि ८० प्रतिशतसम्म हुन्छ भने डोनरलाई १ प्रतिशत जोखिम मानिन्छ । प्रत्यारोपणपछि संक्रमण र रिजेक्ट हुने सम्भावना करिव १ बर्ष हुने अनुमान गरिएको छ । प्रत्यारोपणपछि धेरै विरामी सामान्य जीवनजस्तै गर्ने भएकाले पनि संक्रमणको सम्भावना भएकाले भारतमा हालसम्म बालबालिकामा गरिएको प्रत्यारोपणमा देखिएको जोखिमलाई समेत चिकित्सक ध्यान दिएकाले सतप्रतिशत सफल हुने विश्वास गरिएको छ ।

ओमकुमारी शान्ति कोषले के के सहयोग गर्छ ?
म्याग्दी जिल्लामा आर्थिक अभावकै कारण उपचारबाट बन्चित हुने विरामीलाई नयाँ जीवन दिन सक्रिय कोषले सियानाको उपचारमा कानुनी प्रक्रिया सहित डोनरको खर्च सहित प्रत्यारोपणपछि समेत सहयोग गर्नेछ । कोषको संयोजनमै कलेजो दिने भएपछि डोनरलाई तीनपटक चेकजाँच तथा डोनरलाई सघाउन, सियानालाई आपतकालिन सहयोग आवश्यकता परेमा सहयोग गर्ने कोषका सचिव लोकेश पुनमगरले बताए ।

उनका अनुसार प्रत्यारोपणपछि डोनरको कलेजो पुरानै अवस्थामा फर्किने बेलासम्म चेकजाँच तथा आवश्यक जिम्मा कोषको जिम्मेबारी भएको बताए । उनले एकबर्षसम्म आवश्यक सहयोग गर्ने बताए । सियानाको उपचारमा विश्वभरबाट भइरहेको सहयोगले सहज भएपनि कलेजोको अभाव भएपछि कोषले पहल गरेको बताए । पुन ओमकुमारीका दाजु हुन् ।

बेनी नगरपालिका–४ की ओमकुमारी शान्ती पुन हाईपोपलास्टिक एनिमिया रोगबाट पीडित भएपछि उपचारमा सहयोग जुटाउन सुरू भएको अभियानको क्रममा निधन भएपछि ओमकुमारीको नाममा स्थापना गरिएको कोषले आर्थिक अभावका कारण उपचारबाट बन्चित भएका म्याग्देलीको उपचारमा आर्थिक जुटाइरहेको छ । प्रतिब्यक्ति १० हजार देखी ३० लाखसम्म कोषमार्फत उपचारमा सहयोग जुटेको छ ।कोषमार्फत ब्लड क्यान्सर, मुटु, मृगौला, हाडजोर्नी, आँखा, नशा लगाएत विभिन्न किसिमका करिव १ सय १० जना विरामीको उपचारमा सहयोग गरेको छ । १ करोड ५० लाखको अक्षय कोष स्थापना गरी त्यसबाट प्राप्त ब्याजले नियमित सहयोग गर्न सहज हुने कोषले जनाएको छ ।