विपन्नको उपचारमा बेनी नगरपालिकाले खर्च दिने, तिम्ल्याह बच्चालाई ३० हजार सहयोग

आर्थिक अभावले कुनैपनि रोगको उपचारबाट बन्चित हुनुभएको छ ? छ भने अव बेनी नगरपालिकाले नगर क्षेत्रका गरिब तथा विपन्न परिवारको उपचारका लागी आर्थिक सहयोग गर्ने भएको छ ।नगरकार्यपालिकाको बैठकले उपचारमा समस्या भएका नगरबासीलाई रोगको पहिचान गरी प्रक्रिया पुरा गरी आर्थिक सहयोग गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।

विगतमा समेत वडा कार्यालयको सिफारिसमा सहयोग गर्ने गरिएकोमा कार्यपालिकाको बैठकले रोगको गम्भीरता, आर्थिक हैसियतलाई आधार बनाएर प्रक्रिया पुरा गरी सहयोग गर्ने नगरपालिकाका प्रबक्ता रामकृष्ण बराईलीले बताए ।‘आर्थिक अभावकै कारण समस्यामा परेकालाई हामीलाई सम्पर्क गर्न अनुरोध गर्दछौ,‘नगरबासीको उपचारमा सहयोगी भूमिका खेल्न प्रतिबद्ध छौ’ बराईलीले बेनीअनलाइनलाई भने ।

उनले नगरपालिका भित्रबाट गरिब तथा विपन्न बर्गलाई सहयोग गर्ने रकमलाई समेत आगामी बर्ष बृद्धि गर्ने बताए । उनले नगरपालिका भित्रका जनताको आधारभुत आवश्यकतालाई पुरा गर्न प्रतिबद्ध रहेको बताउँदै उपचार खर्चको अभावमा रहेका नगरबासीलाई विगतमा दिईने खर्च भन्दा अव केही बढाएर उपलब्ध गराउन बताए ।

नगरपालिकाले गएको कार्यपालिका बैठकबाट विगतमा लिदैं आएको एकिकृत सम्पत्ती कर सहित जनतालाई सुविधा हुने निर्णयलाई प्राथमिकता दिएको थियो । नगरपालिकाले विरामीको अवस्थार हेरेर तथा चिकित्सकको विवरणको आधारलाई समेत सहयोग उपलब्ध गराउने प्रक्रिया मानेको छ। म्याग्दीमा परोपकारी संस्था ओमकुमारी शान्ति कोषले गरिब तथा विपन्न परिवारको उपचारमा खर्च गरेको छ ।

तिम्ल्याह बच्चालाई ३० हजार सहयोग
बेनी नगरपालिकाले दुई परिवारका तिम्ल्याह बच्चाको पालणपोषणका लागि आर्थिक सहयोग गरेको छ । वडा नं ४ सिंगा राक्से र वडा नं ७ मंगलाघाटका दुई परिवारका तिम्ल्याह बच्चाको उपचार तथा पालनपोषणमा सघाउन नगरपालिकाले सहयोग हस्तान्तरण गरेको हो ।

कार्यपालिकाको बैठकबाट निर्णय गरिए अनुसार मंगलबार मेयर हरिकुमार श्रेष्ठ,उपाध्यक्ष सञ्जु बरुवाल, प्रमुख प्रशासकीय अधिकृत छवीलाल सुवेदी र वडा नम्बर ८ का अध्यक्ष रामकृष्ण बराईलीको उपस्थितीमा राक्सेका केदार आचार्य र मंगलाघाटकी सम्झना बानियाँलाई प्रति परिवार ३० हजारको दरले सहयोग हस्तान्तरण गरिएको हो । राक्सेका तिम्ल्याह बच्चाको उपचारमै करिव ३५ लाखभन्दा धेरै खर्च भएको छ । नियमित औषधी उपचार तथा आइयूमा राखेर उपचार गर्नुपर्ने भएकाले पनि परिवारको कमाईले नपुगेपछि ऋण खोजेर समेत उपचार गर्ने गरिएको थियो । दुवै परिवारले नगरपालिको सहयोगले केही राहत मिलेको बताएका थिए।

तिम्ल्याह बच्चाका अभिभावकलाई सहयोग हस्तान्तरण गदैं बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ । तस्वीर सौजन्य साधन राम्जाली