गलेश्वर आश्रमका बृद्धबृद्धालाई न्यानो कपडा

बेनी नगरपालिका–९ गलेश्वरमा अवस्थित जेष्ठ नागरिक आश्रममा रहेका जेष्ठ नागरिकलाई सौन्दर्य कला ब्यवसायी संघले न्यानो कपडा वितरण गरेको छ । सन्तानबाट तिरस्कृत भएका तथा बेसाहरा बृद्धबृद्धालाई शनिबार सैन्दर्यकाल ब्यवसायी महासंघकी केन्द्रिय सदस्य राधाकुमारी मल्लको प्रमुख आथित्यतामा गलेश्वर क्षेत्र विकास कोषका सचिव मधवप्रसाद रेग्मी लगाएतको उपस्थितीमा पछ्यौर,मख्लर र ओठमा लगाउने लिपगार्ड हस्तान्तरण गरिएकोको संघकी अध्यक्ष प्रमिला जोशी श्रेष्ठले बताईन् ।

सोही अवसरमा लायन्स क्लव बेनी महरानीले समेत आश्रमका जेष्ठ नागरिकलाई पञ्जा र मोजा वितरण गरेको थियो । उनले घरपरिवार छोडेर आश्रममा बस्नुपर्ने बाध्यतालाई बुझेर लायन्सले विगतमा समेत सहयोग गरेको बताउँदै आगामी दिनमा पनि निरन्तरता दिने बताईन् । क्लवद्धारा गलेश्वर अन्न क्षेत्रमा आयोजित कार्यक्रमका प्रमुख अतिथि क्लवको जोन चियरपर्सन प्रमिला जोशी, क्लवकी अध्यक्ष हिरा पौडेल लगाएत अन्य सहभागीले बृद्धबृद्धालाई मोजा र पञ्जा लगाइदिएका थिए ।

सहयोग हस्तान्तरण कार्यक्रममा विश्वकै ठुलो सामाजिक संस्थामा आवद्ध भएर सामाजिक कार्यलाई प्रमुख लक्ष्य बनाएर अगाडी बढिरहेको क्लवकी अध्यक्ष पौडेलले बताईन् । दुवै संस्थाले प्रति संस्था १५ हजारको दरले सहयोग गरेका थिए ।

आश्रममा रहेका बृद्धबृद्धासंगै मन्दिरको दर्शन गर्न आएका भक्तजनलाई समेत आवश्यक परेमा निशुल्क भोजनको सुविधा रहेको बताउँदै सामाजिक संघसंस्थाबाट प्राप्त सहयोगले सहज भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका सचिव माधवप्रसाद रेग्मीले बताए । आश्रममा म्याग्दीका साथै देशका विभिन्न जिल्लाबाट आएका करिव ७५ बृद्धबृद्धाको बसोबास रहेको छ ।