चरन क्षेत्रबाट फर्किएका एकदर्जन बाख्रा गोठमै मरे

जिल्लाको रघुगंगा गाउँपालिका–३ घुमाउने तालमा विषालु घाँस खाएर करिव १ दजर्न बाख्रा मरेका छन् । चरनक्षेत्रबाट गोठमा फर्किएका बाख्रा गोठमै मरेको अवस्थामा भेटिएका थिए । ब्यवसायीक बाखापालन गरिरहेका स्थानीय कृषक अनिल शाहीका अनुसार चरनक्षेत्रबाट ल्याइएपछि घाँस नखाने, झोक्रिने जस्ता लक्षण देखिएको बताएका थिए ।

गोठभित्र धमाधम बाख्रा मर्न थालेपछि कृषक शाहीले भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीलाई जानकारी गराएका थिए । डिभिजन प्रमुख पशु चिकित्सक जिवन आचार्यको नेतृत्वमा गएको टोलीले बिषालु घाँस, झार खाएर मरेको जनाएको छ । केन्द्रका पशु प्राविधिक सुवास रेग्मीले बेनीअनलाइनलाई दिएको जानकारी अनुसार चरन क्षेत्रमा पाईने विशाक्त घाँसकै कारण बाख्रा मरेको बताए ।

‘अज्ञान रोगको महामारी होईन्,‘चरनक्षेत्रमा भेटिने विषालु घाँसको पहिचान नहुदाँ बाख्रा मरे’ रेग्मीले भने । उनका अनुसार मरेका सबै बाख्रामा एकैकिसिमको समस्या देखिएको बताए ।११ वटा बाख्रा मरेको र ५ वटाको उपचार भइरहेको बताए । बाख्राको उपचार तथा समस्याको पहिचान गर्न प्रमुख आचार्य, प्राविधिक रेग्मी सहित नायव पशु प्राविधिक गणेशप्रसाद रिजाल,दिपा पौडेल र वडा कार्यालयका प्राविधिक सुजन विक पुगेका थिए ।

यसैबीच चरन क्षेत्रमा रहेका विषालु घाँसको पहिचान गर्न समेत टोलीले अनुरोध गरेको छ । चरन क्षेत्रमा लैजानुपूर्व गाउँघरमा पाईने विषालु घाँस भए वा नभएको हेरेर मात्रै पशुचौपायालाई चरनका लागी प्रयोग गर्नुपर्नेमा जोड दिएको छ । कृषकको करिव ३ लाखको हाराहारीमा नोक्सानी भएको अनुमान गरिएको छ ।