धवलागिरी गाउँपालिकास्तरीय प्रथम राष्ट्रपति रनिङ्ग सुरु

(गोपाल आचार्य) जिल्लाको पश्चिम म्याग्दीमा अवस्थित धवलागिरी गाउँपालिकास्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको बिहिबारदेखि सुरु भएको छ । हेम मावि सिवाङमा आयोजित प्रतियोगिताको उद्घाटन गदैं प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले अवसरको अभावमा दुर्गम क्षेत्रका खेलप्रतिभा ओझेलमा पर्ने गरेको अवस्थामा गाउँपालिकामा आयोजित प्रतियोगिताले खेल प्रतिभालाई जिल्ला हुदै राष्ट्रियस्तरसम्म पुग्ने वातावरण मिल्ने बताए ।

स्थानीय तह, जिल्लाबाट प्रदेश र राष्ट्रियस्तरसम्म पुग्ने गरी खेलकुद गतिविधिलाई समेत प्राथमिकता दिनुपर्ने बताउँदै स्थानीयतहमा क्षमतावान खेलाडीलाई खेलकुद क्षेत्रबाट आवश्यक अवसरका लागी समेत पहल गर्नुपर्ने बताए । उद्घाटन कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्मा, उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य, नेपाली कांग्रेसका प्रतिनिधि तेजेन्द्र बहादुर थापाले खेल क्षेत्रको विकासले समेत समृद्ध नेपाल बनाउन सकिने बताएका थिए ।

स्थानीयतस्तरबाट छनौट भएका खेलाडीलाईथप अवसरका लागी सहयोग गर्नुपर्ने बताउँदै खेल क्षेत्रमा केन्द्र, प्रदेश र स्थानीय तहले बजेट विनियोजनमा प्राथमिकता दिनुपर्नेमा जोड दिइएको थियो । प्रतियोगितामा छात्र÷छात्रा भलिबल, कवड्डी, एथलेटिक्सका साथै १४ विधाका खेल सञ्चालन हुने श्रोतब्यक्ति गिरीप्रसाद छन्त्यालले बताए । प्रतियोगितामा बिजेताले रनिङ्ग कप, मेडल र प्रमाणपत्र सहित ४५ हजार रुपैयाँ नगद, उपबिजेताले ३० हजार रुपैयाँ र तितृयले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिता सञ्चालनका लागि युवा तथा खेलकुद मन्त्रालयले पाँच लाख, राष्ट्रिय खेलकुद विकास परिषद्ले एक लाखबजेट पठाएको थियो भने गाउँपालिकाले समेत बजेट विनियोजन गरेको छ ।पुष २६ देखि २९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा अध्यक्षता गाउँपालिका अध्यक्ष थमसरा पुन, स्वागत उपाध्यक्ष रेशम छन्त्याल र सञ्चालन स्रोत व्यक्ति छन्त्यालको सञ्चालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । प्रतियोगितामा १ उच्च मावि सहित १० विद्यालयको सहभागिता रहेको छ । उद्घाटन कार्यक्रममा प्रहरी नायव उपरिक्षक बीर बहादुर बुढामगर, वडा अध्यक्ष लगाएत विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।