फलोअफः नारच्याङको क्रसर गाउँपालिकाले छानबिन गर्ने

नारच्याङमा निर्माणधिन अवस्थामा रहेकोे रोर्वट्स इर्नजी प्रालिको ४२ मेगावाट क्षमताको म्रिस्ती खोला जलविद्युत आयोजनाको आडमा अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको पतारमा सञ्चालित क्रसर उद्योगका बारेमा छानविन गर्ने भएको छ । जलविद्युत आयोजनालाई आवश्यक पर्ने गिटी, बालुवा र ढुंगा उत्खनन्का लागी सञ्चालित उद्योगमा केही स्थानीयले शक्ती र पहुँचको आडमा ब्यवसायीक रुपमा सञ्चालन गरिरहेको क्रसरलाई कानुनी दायरामा ल्याउन गाउँपालिकाले चासो देखाएको प्रमुख प्रशासकीय अधिकृत सन्तोष पौडेलले बताए ।

‘समाचार आएपछि ध्यानर्कषण भएको छ,‘उहाँहरुलाई प्रमाण सहित आउने बारेमा जानकारी भइसकेको छ’ पौडेलले भने ।उनका अनुसार गाउँपालिका भित्र रहेका क्रसरबाट एक रुपैयाँ पनि कर नतिरेको बताउँदै कानुनी दायरामा ल्याउन आवश्यक पहल हुने बताए । गाउँपालिका अध्यक्ष डम बहादुर गर्बुजा परिवारको उपचारका लागी भारतमा रहेको बताउँदै एकसाताभित्र क्रसर सहित एक्याप क्षेत्र भित्र भइरहेका गतिविधिका बारेमा कार्यपालिकामा जनप्रतिनिधिबाटै दवाव आएको बताइएको छ ।

जलविद्युतको हब समेत भएकाले आयोजनाले आफ्नो क्षेत्रभित्र ब्यक्तिगत वा गैरकानुनी रुपमा संस्थागत लाभ लिन नपाउने बताए ।म्रिस्ती खोला, आसपासका सार्वजनिक जग्गाबाट जलविद्युतको नाममा दर्ता भएको क्रसरबाट स्थानीयस्तमा राजनीतिक पहुँचको आडमा खोला तथा आसपासका क्षेत्रमा मनपरी एक्जाभेटर लगाएर आयोजना बाहिर समेत निर्वाध बिक्री गर्ने गरेको समाचार  प्रकाशित भएपछि स्थानीय समेत उत्साहित भएका छन् ।

जलविद्युत आयोजनाले आवश्यकता अनुसार राख्न पाउने भएपनि यहाँको क्रसर केही ब्यक्तिलाई आफ्नो पक्षमा ल्याउन म्रिस्त्रीले प्रयोग गर्न दिएको आरोप छ । राजनीतिक तथा सामाजिक संघसंस्थामा सक्रिय रहेका ब्यक्तिहरुले स्थानीयलाई रोजगारी भन्दै केही स्थानीयले ब्यक्तिगत रुपमा सञ्चालन गरेपनि सार्वजनिक रुपमा बोल्न सकेका थिएनन्।‘स्थानीयको नाममा दुईचारजनाले क्रसरबाट कमाइरहेका छन्,‘आयोजना समेत बोल्न सकेको छैन’एक स्थानीयले भने ।

उनका अनुसार क्रसरबाट आयोजनामा भन्दा दानाको सवस्टेशन, बेनी–जोमसोम सडक, बेलीब्रिज र ब्यक्तिको घरमा समेत बेच्ने गरिएकाले नारच्याङबासीको नाम मात्रै भएको बताए ।अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना (एक्याप) क्षेत्रभित्र रहेको क्रसर एक्यापको स्थानीय ब्यवस्थापन समितिमा आवद्ध रहेका ब्यक्तिहरुले नै प्रयोग गदैं आइरहेका छन् । क्रसरमा लाखौं घनमिटर नदीजन्य पदार्थ भण्डारण गर्ने गरिएको छ ।स्थानीयका अनु्सार क्रसरबाट बार्षिक करिव ५० लाखभन्दा धेरै आम्दानी हुने गरेको भएपनि स्थानीयले एक रुपैयाँ पनि समुदायले लाभ लिन पाएका छैनन् ।

गाउँमा रहेका सामुदायिक विद्यालयमा नीजि स्रोतका शिक्षक तथा अन्य सामाजिक गतिविधिमा सहयोगभन्दा पनि केही ब्यक्तिलाई नै संरक्षण गर्ने गरी आयोजनाको सहयोगलाई स्थानीय जनप्रतिनिधिले समेत आलोचना गर्ने गरेका छन् ।यता क्रसर सञ्चालकले कानुनी प्रक्रिया पुरा गरेको बताउँदै स्थानीयलाई रोजगारी दिने गरी जलविद्युत आयोजनाको नाममा काम गरिरहेको बताएका छन् ।

क्रसरबाट नारच्याङबासीले लाभ लिइरहेको उनीहरुको दावी छ । म्रिस्त्रीखोला र ठेकेदार कम्पनी हाई हिमालय हाईड्रोको दुईवटा करिव करिव ५० मिटरको दुरीमा छन् । यता म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले संस्थाको नाममा रहेको जलविद्युतबाट ब्यक्तिले अनुचित लाभ लिन नपाउने बताए । ‘आयोजना पक्षलाई बोलाएर छलफल गर्ने तयारीमा छु,’‘धेरै प्रक्रिया पुरा गर्नुपर्छ’ प्रजिअ अधिकारीले भने । जिल्लाभित्र रहेका अन्य क्रसर उद्योगलाई समेत प्रशासनले निगरानी गर्ने जनाएको छ ।