अन्नपूर्णमा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

अन्नपूर्ण गाउँपालिकास्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरू भएको छ । गाउँपालिकाको आयोजनामा वडा नं ३ दानाको ज्ञानप्रकाश माविमा मंगलबारदेखि सुरू भएको अन्तर माध्यमिक छात्र÷छात्रा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले उद्घाटन गदैं विद्यालयस्तरमा रहेका खेलकुद प्रतिभाको उजागर गर्नुपर्ने बताए ।

गाउँपालिका भित्र रहेका विभिन्न १० माविको सहभागिता रहेको प्रतियोगिताको उद्घाटन कार्यक्रमको अवसरमा गाउँपालिका उपाध्यक्ष केशमायाँ मगरले आधारभुत तहदेखि माविस्तरसम्म खेलकुद गतिविधिलाई समेत प्राथमिकता दिने बताइन् । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सन्तोष पौडेल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले उत्कृष्ट खेलाडीलाई थप अवसरका लागी सहयोग गर्ने बताए ।

प्रतियोगितामा छात्र÷छात्रा भलिबल, कवड्डी, एथलेटिक्सका साथै विभिन्न १५ वटा विधाका खेल सञ्चालन हुने कार्यपालिकाको सामाजिकविकास समितिको संयोजक ओमप्रकाश फगामीले बताए ।प्रतियोगितामा बिजेताले रनिङ्ग कप, मेडल र प्रमाणपत्र सहित ५० हजार रुपैयाँ नगद, उपबिजेताले २५ हजार रुपैयाँ र तितृयले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिता सञ्चालनका लागि युवा तथा खेलकुद मन्त्रालयले पाँच लाख, राष्ट्रिय खेलकुद विकास परिषद्ले एक लाखबजेट पठाएको थियो । उद्घाटन कार्यक्रमको अवसरमा विभिन्न जातजातिको पहिचान झल्कने झाँकी प्रर्दशन गरिएको थियो । पुष २४ देखि २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सामाजिक विकास समितका संयोजक फगामीको अध्यक्षता, ज्ञान प्रकाश माविका प्रअ शान्तबहादुर नेपालीको स्वागत र स्रोत व्यक्ति भरत पुनको सञ्चालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो।