सडकमा नै सुतेर विरोध गर्दै म्याग्दीका महिलाहरु

निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न दोषी पत्ता लगाउन माग गर्दै महिला संघ म्याग्दीले सदरमुकाम बेनीमा विरोध प्रर्दशन गरेका छन् । नेपाली कांग्रेस म्याग्दी सर्मथित संघले घटनामा संलग्नलाई राज्यले संरक्षण गरेको भन्दै गृहमन्त्रीको राजिनामा समेत मागेका थिए । बेनीबजारमा आयोजित विरोधसभामा बलात्कारपछि हत्या गरिएकी पन्त, हत्या गरिएकी रुपा गौतमका साथै संगिन जिसीको हत्याराको पहिचान गरी कारवाहीको माग गदैं विरोधगरेका थिए।

बेनीबजार परिक्रममा गरी संगमचोकमा आयोजित कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका उपसभापति माधवप्रसाद रेग्मीले सरकारको गतिविधि ओठे बोलीमै सिमित भएको आरोप लगाए । उनले प्रधानमन्त्री र मन्त्रीहरुको गतिविधि आसोपासेलाई संरक्षणमा केन्द्रित भएको बताए । सोही अवसरमा संघकी अध्यक्ष बिमला गौचनले महिलाहिंसाका घटना बढ्दै गएको बताईन् । उनले हत्यामा संलग्नको पहिचान नभए समाजमा महिलाले सधै असुरक्षितको महसुस गर्नुपर्ने बताईन् ।

उनले पछिल्ला हत्याका घटना अनुसन्धान रहस्यमय बन्दै जाँदा हत्यारा पक्राउ गर्न नसक्नु सरकारको लाचारीपन भएको भन्दैसरकार विरोधी नाराबाजी गर्न बाध्य भएको बताईन्। कोणसभामा बोल्ने वक्ताहरुले मुलुकमा हत्या र हिंसाका घटना बढ्दै जानु दुखद भएको बताउँदै हत्या घटनाको पर्दाफास गर्न नसक्नु सरकारको गैरजिम्मेबारीपन भएको औल्याएको महिला संघकी सचिव सृजना श्रेष्ठले बेनीअनलाइनलाई बताईन् ।