म्याग्दीका यातायात ब्यवसायीले भने,‘मुल्य र सेवामा प्रतिस्पर्धा गछौं’

यात्रुको सेवामा गुणस्तर कायम गरी प्रतिस्पर्धा गर्ने म्याग्दीमा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् । म्याग्दी जीप तथा बस सञ्चालक समितिले शुक्रबार आयोजित ब्यवसायीक भेलामा बोल्ने बक्ताले जिल्लाको ग्रामिण क्षेत्रमा सञ्चालित सवारीसाधनलाई प्रभावकारी बनाउन चालकलाई यात्रुमैत्री तथा सेवामा गुणस्तरलाई प्राथमिकता दिने बताएका हुन् ।भेलाको उद्घाटन गदैं गोपाल भट्टचनले म्याग्दी जिल्लामा यात्रुको सुविधालाई ध्यान दिनुपर्ने बताए । ‘म्याग्दीका यातायात ब्यवसायीको योगदानलाई पनि सम्मान गर्नुपर्छ,‘दुर्घटनामा परेका यात्रुलाई उपचारमा समितिले खेलेको भूमिकाले धेरैका ज्यान जोगिएको छ’ उनले भने ।

सदरमुकाम बेनीबाट जिल्लाका ग्रामिण क्षेत्र जोड्ने सडक जिर्ण तथा जोखिम भएकाले पनि यात्रुको सुरक्षालाई ध्यान दिएर मापदण्ड अनुसार नै यात्रु बोक्नुपर्ने बताए । उनले ग्रामिण क्षेत्रमा समाना बोक्ने बोलेरेले मनपरी यात्रु बोक्ने गरेपनि त्यसको दोष समितिलाई दिने गरिएको समेत बताए । जिल्लाका ग्रामिण रुटमा सञ्चालित सेवालाई थप प्रभावकारी बनाउने गरी सेवालाई विस्तार तथा गुणस्तरीय बनाउन आवश्यकता अनुसार नयाँ सवारीसाधन थप गर्नुपर्ने बताए । उनले प्रतिस्पर्धामा सेवा दिन चालक र ब्यवसायी बीचको सम्बन्ध बलियो हुनुपर्ने बताए । कार्यक्रममा निर्वतमान अध्यक्ष सुरत केसीले समितिले जिल्लाका साथै जिल्ला बाहिर दिएको सेवामा यात्रु सन्तुष्ट रहेको बताए । भेलामा लेखा समिति संयोजक खुम बहादुर थापा लगाएतले मन्तब्य राखेका थिए ।

भेलामा समितिमा आवद्ध १ सय ४२ ब्यवसायी मध्ये करिव १ सय ब्यवसायीको सहभागिता रहेको कार्यालय सचिव देबेन्द्र पौडेलले बताए । भेलामा सहभागीले सरकारले यातायात ब्यवसायीलाई दोस्रो दर्जाको ब्यवसायीको रुपमा हेर्ने गरेको गुनासो समेत गरेका थिए । जिल्लाभित्र ब्यवसायमात्रै नभई समितिका सवारीसाधनले एम्बुलेन्सको रुपमा समेत काम गरेको अध्यक्ष लाल बहादुर थापाले बताए ।

‘गुणस्तरीय सेवाबाट पछाडी हटेका छैनौ,‘सेवालाई थप प्रभावकारी बनाउँछौ, यात्रुको मन जितेरै अगाडी बढ्छौ’ थापाले भने । उनले ग्रामिण क्षेत्रमासमान बोक्ने सवारीसाधनलाई क्षमता भन्दा तेब्बर यात्रु बोकदा दुर्घटना हुने गरेको बताए । उनले सरकारी निति अनुसार मुल्य र सेवामा प्रतिस्पर्धा गर्ने दोहोराएका थिए । भेलामा सचिव सुमन श्रेष्ठले प्रगति तथा भावी योजना प्रस्तुत गरेका थिए । सचिव श्रेष्ठले प्रस्तुत गरेको भावी याजनामा जिल्लाका ग्रामिण क्षेत्रका रुटको रुथलगत अनुगमन तथा सेवालाई विस्तार, जिल्ला बाहिरको सेवालाई आक्रमक बनाउने लगाएतका छन् ।