गलेश्वधाममा सतबिज छर्नेको घुईचो

म्याग्दीको प्रसिद्ध धार्मीक स्थल गलेश्वरधाम शिवालय मन्दिरमा बिहिबार विहानैदेखि बालाचर्तुदशी पर्वको अवसरमा पुजा पाठ गर्ने र सतबिज छर्ने भक्तजनको घुईचो लागेको छ । बेनी नगरपालिका–९ मा अवस्थित मन्दिरमा बिहिबार रातभर जागरमा बसी पृतिउद्धार तथा शिवलोक प्राप्ती गर्ने जनविश्वासका साथ परापुर्वकाल देखी नै गलेश्वरधाममा सतबिज छर्ने भक्तजनको विहानै देखी भिड लागेको कोषका कार्यालय प्रमुख राम बहादुर बानियाँले बेनीअनलाइनलाई बताए ।

प्रसिद्ध गलेश्वर मन्दिरमा रहेको बेलको बोटको पुजा गर्ने, सतबिज छर्न जिल्लाका विभिन्न स्थानका साथै छिमेकी जिल्ला बाग्लुङ्ग,पर्वत,कास्की, रुपन्देही,चितवन,गुल्मी,नवलपरासी लगायतका ठाउँहरुबाट समेत भक्तजनहरू देखिएका छन् । मन्दिरमा विहान विस्तारै भक्तजन बढ्दै गएको जनाइएको छ । विहानभन्दा दिउँसो भक्तजनको भीड लाग्ने कोषका अध्यक्ष रुद्ध बहादुर केसीले बताए । कालिगण्डकी नदीमा नुहाई सतबिज छर्ने धार्मिक चलन रहेको उनले बताए ।सतबिजमा कोदो बाहेक धान,गहुँ ,मकै ,जौ ,केरा,सुन्तला लगायतका अन्न तथा फलफलु छर्ने गरिन्छ ।

विभिन्न सय थरी बिउहरुलाई छर्ने भएकाले सतबिज नामाकरण गरिनुका साथै राजा भरतले ४ धाम मध्ये गलेश्वरमा तपस्या पुरा गरेको किम्वतन्ती रहेको पाईन्छ । विषेशगरी बालाचर्तुदर्शीको अवसरमा शिब मन्दीर परीसरमा सतबिज छर्नाले संसारमा भोकमरी नहुने र खेतीपातीको राम्रो संरक्षण हुने जनविश्वास रहेको पण्डित भिमनाथ पराजुलीले बताए । ‘शतबीजारोपणले पितृको उद्धार हुन्छ, अघिल्लो दिन शिवालयमा दीप प्रज्वलन गरिन्छ’ पराजुलीले भने ।

उनले नेपालमा मनाइने विभिन्न धार्मिक संस्कृतिमध्येको बालाचतुर्दशीलाई विषेश गरी सनातन हिन्दू धर्म अन्र्तरगतको विशिष्ट महत्वको मान्ने गरिन्छ ।भगबान शिवजीका ८८ वटा अवतार मध्ये बाल अवतारको अवसरमा गलेश्वरधाममा सतबिज छर्ने प्रचलन रही आएको छ । मन्दिरमा आएका भक्तजनहरुको गरगहना चोरी हुनसक्ने सम्भावनालाई मध्यनजर गदै विभिन्न स्थानमा सिसी क्यामेरा जडान गरिएको छ ।

कृष्णागण्डकीवाट उठेर ९ रोपनी चट्टानमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिर भित्र स्वयम् उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको धार्मिक विश्वास रहेको छ । गलेश्वरधाममा रहेका ज्योतिर्लिङ्ग, शालिग्राम, जलकूण्ड, शंखचक्रहरु, नागमणी आदि चक्राकार रूपी चिन्ह मानवनिर्मित नभई स्वंयम उत्पन्न भएको धार्मिक पुस्तकमा उल्लेख छ ।