४० मेगावाट क्षमताको रघुगङ्गाको बाँध स्थलसम्म पहुँचमार्ग निर्माण

जिल्लामा निर्माण हुन लागेको ४० मेगावाट क्षमताको रघुगङ्गा जलविद्युत् आयोजनाको बाँध स्थलसम्म पुग्ने पहुँचमार्ग निर्माण भएको छ  रघुगङ्गा गाउँपालिका–३ घुमाउने तालदेखि पिप्ले मौवाफाँट, ४ नम्बर वडाको बुक्ल हुँदै दग्नाम र वडा नं ५ झिँको सिमानामा निर्माण हुन लागेको बाँधसम्म सडक पुर्याइएको हो ।

गत असारमा मौवाफाँटदेखि नयाँ मार्ग (ट्याक) खन्न शुरु गरेको भारतीय निर्माण कम्पनी जेपी एशोसियट्सले बाँधसम्म सडक पुर्याएको रघुगङ्गा हाइड्रो लिमिटेडका प्रबन्ध सञ्चालक श्रीराम पाण्डेले जानकारी दिनुभयो ।उहाँका अनुसार ११ किलोमिटर पहुँचमार्ग मध्य नौ किलोमिटर ९०० मिटर सडकको ट्याक खुलिसकेको छ । घुमाउने तालदेखि पिप्लेसम्म र गाउँपालिकाको केन्द्र मौवाफाँटदेखि बाँधसम्म नयाँ ट्याक निर्माण भएको हो ।

पिप्लेदेखि मौवाफाँटसम्म यसअघि निर्माण गरिएको सडक विस्तार र स्तरोन्नति गरिएको छ । मूल सडकदेखि बुक्लमा रहने अडिट नं २ को सुरुङमा जाने ८१४ मध्य ७१४ मिटर सडकको ट्याक खुलिसकेको छ ।२०७४ मङ्सिर ५ गते ठेक्का सम्झौता गरेको निर्माण कम्पनी ऋण लगानीकर्ता भारतीय एक्जीम बैंकको स्वीकृति पछि २०७५ जेठ १० गतेदेखि कार्यक्षेत्रमा परिचालन भएको थियो । जलविद्युत् आयोजनाले बाँधसम्म निर्माण गरेको सडक विस्तार गरेर पाखापानीको औला जोड्ने तयारी गरिएको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो ।