मृगौला पीडित सुनारलाई मोना कोरियाको सहयोग

दुवै मृगौलाले काम गर्न छोडेपछि उपचार गराइरहेका एक मृगौला पीडितलाई कोरियामा रहेका म्याग्देलीले आर्थिक सङ्कलन गरेका छन् । म्याग्दीको धवलागिरी गाउँपालिका ७ ताकमका थमबहादुर सुनारको दुवै मृगौलामा समस्या देखिएपनि उपचारमा आवश्यक पर्ने रकम अभावले अस्पतालको बेडमा छटपटाइरहेको अवस्थामा मोना कोरियाको पहलमा संकलित १ लाख ४ सय रुपैयाँ आइतबार एक कार्यक्रमका बीच पीडितलाई हस्तान्तरण गरिएको छ । काठमाण्डौमा मोना कोरियाले गरेको कार्यक्रममा गरिब तथा बिपन्न परिवारका सदस्यलाई जटिल रोग देखिएपछि सहयोग संकलन विना उपचार सम्भव नभएको बताउँदै सहयोग सङ्कलन गरी उपचार गर्नुपर्ने बताइएको थियो ।

रकम हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि गैरगाउँ बागलुङ विश्वकर्मा समाज काठमाण्डौका अध्यक्ष रामकृष्ण सुनार, समाजसेवी कृष्ण विश्वकर्मा, मोना कोरियाका सदस्य याम हर्मेलको उपस्थितीमा रकम हस्तान्तरण गरिएको मोना कोरियाका अध्यक्ष किसन सेन्चुरीले बताउनुभयो । ‘अस्पतालमा नयाँ जीवनको खोजीमा हुनुहन्छ,‘सानो सहयोगले उहाँको उपचारमा सहज हुन्छ’ सेन्चुरीले भन्नुभयो । कोरियामा सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा सहयोग संकलनमा सहज भएकाले पनि विरामीको उपचारमा सहयोग जुटाउने गरेको बताउनुभयो ।

सोही अवसरमा पीडित सुनारले अर्थ अभावका कारण दुबै मृगौला प्रत्यारोपणमा समस्या भएको बताउनुभएको थियो । ‘मेरो लागी नयाँ जन्म जस्तै हो,‘अहिलेसम्म प्राप्त सहयोगले मृत्युलाई रोक्न सफल भएको छ, यस्तै सहयोगको आशा गरेको छ’ सुनारले भन्नुभयो । स्वदेश तथा विदेशबाट प्राप्त सहयोगले नियमित उपचारमा सहज भएपनि मृगौला प्रत्यारोपणका लागी करिव २० लाख लाग्ने परिवारका सदस्यको भनाई छ । सहयोग हस्तान्तरण कार्यक्रमको सञ्चालन मोना कोरियाका संरक्षक भरत तुलाचनले गरेका थिए ।