रमेश कुमार राजभण्डारीका तीन सन्तान जो आफ्नै देशमा थिएनन् । तिनै छोरा रोजगारीकोे शिलशिलामा विदेश पुगेपछि अब नेपाल फर्केलान् भन्ने उनलाई विश्वासै थिएन । बागलुङका कहलिएका पुराना व्यापारी राजभण्डारी आफ्ना छोराहरुले पनि आफूले जस्तै नेपालमानै केही गरुन भन्ने सोच राख्दथे ।
बागलुङ बजारमा सबैभन्दा पहिलो पटक पुस्तक पसल, सिनेमा हल, मिल, फर्निचरको समेत व्यवसाय गरेका तिनै राजभण्डारीका छोराहरु सुगम राजभण्डारी जापान, सौरभ राजभण्डारी अष्ट्रेलिया र अर्को छोरा संदिप राजभण्डारी युकेमा थिए ।

विदेशको अनुभवलेनै सेल्स मार्ट
सुगमले जापानमा १६ बर्ष काम गरे । सौरभले अष्ट्रेलियामा १० र अर्को छोरा संदिपले ५ वर्ष युकेमा विताए । सुगम र सौरभले सुपर मार्केटमा काम गरेका थिए भने संदिपले रेष्टुराँमा काम गरे ।

विदेशमा सुपर मार्केटमा काम गरेको अनुभव संगाल्दै नेपाल फर्किएका तीन दाजुभाईहरु मिलेर बागलुङ नगरपालिका–३ पुरानो सिनेमा रोडमा विदेशी झल्को दिने खालको नयाँ सुपर मार्केट खोले । सेल्स् मार्ट नाम दिइएको उक्त अत्याधुनिक सेवासहितको सुपर मार्केट बागलुङ बजारमा नयाँ र पहिलो भएको उनीहरुको भनाई छ ।पुरानो सिनेमा रोडनेर उनीहरुले मेकअपदेखि खाद्यन्नसम्मको सामाग्रीहरु एकै छानामुनि पाइने गरी सेल्स् मार्ट संचालनमा ल्याएका हुन् ।

८० लाख लगानी
झण्डै ८० लाखको लागतमा सेल्स् मार्ट संचालनमा ल्याएको सुगम राजभण्डारीले नयाँ विश्वलाई जानकारी दिए । ‘बुवाको सोच थियो छोराहरुले नेपालमानै केहि नयाँ व्यवसाय शुरु गरुन, हामी तीन भाइले पनि विदेश रहदाँको समयमा त्यहाँ देखेको र सिकेको कुरालाई लागू गरी नयाँ ढंगले व्यवसायी शुरु गरौं भन्ने सोच बनायौ र सेल्स मार्ट संचालनमा ल्यायौं,’ उनले भने ।

दीर्घकालीन योजना
बागलुङ बजारमा सेल्स् मार्ट खोलेका तीन दाजुभाईको विदेश जाने रहर अब भने पूरा भएको छ । सेल्स् मार्टलाई बागलुङ बजारभित्र मात्रै नभई छिमेकी जिल्लामा पनि विस्तार गर्ने दिर्घकालीन योजना उनीहरुले बनाएका छन् ।

बागलुङ बजारभित्रै पनि सेल्स् मार्टको शाखा विस्तार गर्ने योजना रहेको संदिप राजभण्डारीले नयाँ विश्वलाई बताए । ‘हामी अब यो व्यवसायलाई निरन्तरता दिने सोचमा छौं । यसलाई यत्तिकैमा समिति नराखी थप व्यवस्थापन र शाखा खोल्ने योजनामा रहेका छौं,’ उनले भने ।

स्मार्ट कार्डबाट भुक्तानी
सेल्स मार्टमा स्मार्टकार्डबाट पनि भुक्तानी गर्न मिल्ने सेवा समेत शुरु गरिएको छ । विभिन्न बैठकसँग सहकार्य गरी सेल्स् मार्टमा भुक्तानी कार्डबाट पनि गर्न मिल्ने बनाइएको हो । नगद र कार्डको प्रयोग एकै हो । ‘मानिसहरु अहिले पैसा बोकेर हिड्न गाह्रो मान्छन् । कार्डको प्रयोगबाट पनि भुक्तानी गर्न पाए खुसि हुन्छ । त्यसैले हामीले यो सेवा पनि शुरु गरेका हौं,’ सौरभले भने ।nayabishwo.com