मृगौला पीडित छन्त्याल भन्छन्,‘उपचारमा आर्थिक सहयोगले नयाँ जीवन पाउँदै छु’

नियमित विद्यालयमा गइरहेका थिए । आफ्नो भविस्य सुन्दर बनाउने योजना पनि बुन्दै थिए सुरेश छन्त्याल । सदरमुकाम बेनीबजार स्थित माउण्ट एभरेष्ट आवासीय माविमा कक्षा ११ मा अध्ययरत छन्त्याल एक्कासी विरामी भएपछि उपचारको क्रममा चिकित्सकले दुवै मृगौला खरावी भएको बताएपछि छाङ्गोबाट खसेजस्तै भए । कलिलै उमेरमा महंगो खर्च हुने रोगबाट पीडित भएपछि छन्त्यालले जिन्दगी नै छोटिएको महसुस गरेका थिए ।

बैदेशिक रोजगारमा बहरानइ पुगेका बुबाले समेत समस्यामा बारेमा जानकारी पाएपछि प्रष्ट बोल्न सकेनन् । घरपरिवार, आफन्त र साथीहरु समेत निकै चिन्तित भए । उपचारमा करिव २० देखी ३० लाख खर्च हुने भएपछि आर्थिक अभावमै मृत्यु रोज्नुपर्ने पर्ने अवस्था नजिक थियो । घरपरिवारले उपचारको पहिलो चरणमा लाग्ने खर्च जुटाएपििन थप आर्थिकको अभाव भएपछि निकै निराश बनेका छन्त्याललाई म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले अभियान नै सञ्चालन गरेपछि नयाँ जीवन पाएको महसुस भएको छ ।

‘मेरो उपचारका लागि आवश्यक पर्ने आर्थिक जुट्ने क्रममा छ्,‘गाउँ देखी विश्वभर रहेका नेपालीले सहयोग गर्नुभयो’ छन्त्यालले बेनीअनलाइनलाई भने । उनले उपचारमा जन्मगाउँ मंगला गाउँपालिका–५ नेटा अर्मनबाट सुरु भएको आर्थिक संकलन अभियान म्याग्दीका विभिन्न गाउँका मेलापर्व देखी विश्वका कुनाकुनामा रहेका म्याग्देलीले समेत अभियान सञ्चालन गरेपछि उपचारमा सहज भएको बताए । ‘अव नयाँ जीवन पाए,‘मृगौला प्रत्यारोपण भएपछि बेनीमा पुगेर सबैलाई धन्यवाद दिन्छु’ छन्त्यालले भने ।

उपचारमा आर्थिक जुटाउन छन्त्यालकी आमा सिताले बेनी र बुबाले बहराइनबाट समेत अपिल गरेका थिए । उनको उपचारमा कोषबाट अयिभान सञ्चालन गरी नयाँ जीवन पाएका डक बहादुर रोकाले नेतृत्व गरेका थिए । दसैं विदामा आएका छन्त्यालका बुबा सक प्रसादले समेत सहयोगीलाई धन्यवाद दिए । काठमाण्डौमा कोषका अध्यक्ष राजेश शाक्य सहितको टोलीलाई भेटेर पीडित छन्त्यालले थप उपचारमा समेत सहयोगी बन्न अनुरोध गरेका छन् ।

कलिलै उमेरमा मृगौलाले काम नगरेपछि विश्वभर सञ्चालन भइरहेको अभियानले उपचारमा सहज भएको कोषका अध्यक्ष राजेश शाक्यले बताए । उनका अनुसार आर्थिक अभावले उपचारमा कुनै पनि असर गर्न नदिने गरी अभियान सञ्चालन गरिएको बताउँदै हालसम्म कोषबाट ९९ जनाको उपचार गरिएको बताए । घरपरिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि आफन्तले ऋणधन संकलन गरी उपचार गरेपनि थप आर्थिक अभाव भएपछि अभियान सुरु गरिएको अध्यक्ष शाक्यको भनाई छ ।