मुस्ताङमा पर्यटकको ओइरो, तर खान–बस्न कै समस्या (भिडियोसहित)

प्राकृतिक सौन्दर्य र ऐतिहासिक धरोहरले सुसज्जित जिल्ला, मुस्ताङ । मुस्ताङ सुन्दरतामा नलोभिने सायदै होलान् । यो मनोरम सुन्दरताको रसस्वादन गर्न दैनिक हजारौँ आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ पुग्ने गरेका छन् । र अहिले मुस्ताङ भ्रमणका लागि सबैभन्दा उपयुक्त मौसम हो । यो समय हजारौँ पर्यटक मुस्ताङ पुगेका छन् ।

अचेल मुस्ताङस्थित मुक्तिनाथ मन्दिर र कागवेनीधाममा दर्शनार्थीको घँुइचो छ । त्यस्तै, ऐतिहासिक लोमान्थाङ दरबार, दामोदर कुण्ड, ढुम्बाताल, कुक्ष्बु तेरङगुम्बा पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

मार्फागाउँ, टुकुचेलगायत क्षेत्रमा लटरम्मै फलेका स्याउले जोकोहीको मन लोभ्याउँछ । वेगले बहने हावा, हिउँ पग्लेर बगेको कालीगण्डकी, भीमकाय पहाड अनि हिमश्रृङ्खलाले पर्यटकको मन फुरुङ्ग बनाउछ ।

अचेल दैनिक ४ देखि ६ हजारको हाराहारीमा पर्यटक मुस्ताङ पुग्ने गरेका छन् । मंगलबार ३ हजार ९ सय २ आन्तरिक पर्यटक मुस्ताङ पुगेका थिए भने आइतबार तीन हजार र सोमबार एक हजार ६ सय ४३ पर्यटक मुस्ताङ पुगेको तथ्यांक छ।

बेनी–जोमसोम सडक खुलेर सवारीसाधन सञ्चालन सहज भएपछि हिमाली जिल्ला मुस्ताङ स्वदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । पर्यटकको घुइँचो लागेपछि मुस्ताङका पर्यटन व्यवसायी खुसी भएका छन् ।

अहिले पर्यटनको सिजन भएकाले आन्तरिक पर्यटकको चाप पनि निकै बाक्लिएको छ । चाडबाडको बिदाले अझ बढी पर्यटक बढेका हुन् । पहिला स्थलमार्ग सहज नहुँदाको अवस्थासम्म हुनेखानेको मात्र मुस्ताङ पहुँचमा थियो । अहिले भने कम खर्च गर्ने क्षमताका आन्तरिक पर्यटकले पनि मुस्ताङलाई गन्तव्य बनाउन थालेका छन् ।

तर खान–बस्नै समस्या

यतिबेला मुस्ताङ बाह्य तथा आन्तरिक पर्यटकले भरिएको छ । बर्खायाम र हिउँदको सिजनमा प्राय सुनसान रहने मुस्ताङमा यतिबेला आन्तरिक पर्यटकको चहलपहलले गर्दा रौनक थपिएको छ ।हुनत मुस्ताङ आफैमा प्राकृतिक सौन्दर्यताले भरिपूर्ण छ । जिल्लामा पर्यटकको आगमन बढेसँगै मुस्ताङवासी खुसी भएका छन् । तर मुस्ताङमा पर्यटकलाई बस्नका लागि आवश्यक ठाउँ छैन । भनेजस्तो खानेकुरा पाइँदैन । सडकको अवस्था पनि राम्रो छैन । जसकारण पर्यटक दुखी छन् ।

दैनिक ६ हजार पर्यटक मुस्ताङ पुग्छन् । तर, यहाँ २ सय ५० वटा मात्रै होटल छ । सुत्ने ठाउँ नपाएर पर्यटक सवारी साधन या खुला आकाशमुनि रात विताउन वाध्य छन् । मुस्ताङलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आवश्यक पूर्वाधार निर्माण गर्न नसकिएको व्यवसायी स्वीकार्छन् । मुस्ताङ पुगेका पर्यटक रात विताउनकै लागि बेनी झर्नुपर्ने वाध्यता छ ।

सहज यातायात व्यवस्थापन, उचित प्रचारप्रसार, सुरक्षा व्यवस्था, प्राकृतिक सम्पदाको सौन्दर्यता र अन्य आवश्यक पूर्वाधार विकास सके आउदा सालमा मुस्ताङले पर्यटक कुर्नुपर्दैन । मुतङमा आन्तरिक पर्यटक बढेसँगै व्यवस्थापनलाई चुस्त बनाउन पहल भइरहेको बताउँछन्, मुस्ताङ उद्योग बाणिज्य संघका अध्यक्ष खगेन्द्र तुलाचन ।

अहिले मुस्ताङको कोराला नाका खुलाउने र बेनी–मुस्ताङ सडक कालोपत्रे गर्ने कुरा उठेको छ । त्यस्तै, मुस्ताङको घासादेखि मुक्तिनाथसम्ममा थप होटल खोल्ने प्रयास भइरहेको छ । यसका लागि घरपझोङ गाउँपालिकाले प्रहल थालेको छ ।मुस्ताङमा बढेको पर्यटकको चापसंगै यहाँको सुरक्षा ब्यबस्था, सडक पुर्वाधार र होटलहरुको ब्यबस्थापनका लागि काम गर्ने प्रमुख जिल्ला अधिकारी गंगा खत्री बताउँछन् ।कोराला नाका खुल्नेबित्तिकै चीनबाट ठूलो सङ्ख्यामा पर्यटक मुस्ताङहुँदै लुम्बिनीसम्म पुग्ने सम्भावना छ । त्यसैले पनि मुस्ताङका पर्यटकीय स्थलको संरक्षणसँगै आवश्यक पूर्वाधार विकास गर्न आवश्यक छ ।http://www.news24nepal.tv