यस्तो छ म्याग्दी प्रहरीको चाडपर्वमा विशेष योजना

चाडपर्वमा समाजमा घट्न सक्ने सम्भावित घटनालाई मध्यनजर गरेर म्याग्दी प्रहरीले १ सय ५३ जना प्रहरी परिचालन गरेको छ । बडादशैं तथा शुभदिपावली लगायतका चाडपर्वहरुमा विभिन्न किसिमका घटनाहरु घट्न सक्ने भएकाले सम्भावित घटनाको न्युनीकरण गर्न सदरमुकाम बेनी देखी दुर्गम बस्तीसम्म अपराधिक घटना, सामाजिक विकृति लगाएत विभिन्न घटनालाई मध्यनजर गरी ८ प्रकारका जिम्मेबारी तोकेर सुरक्षा योजना बनाइएको छ ।

बुधबार प्रहरी कार्यालयमा जिल्लामा क्रियाशिल पत्रकार तथा सञ्चारकर्मीसँग भेटघाट कार्यक्रममा प्रहरी नायव उपरीक्षक बीर बहादुर बुढामगरले बैंकिङ र सुनचाँदी दुकान सहित भिडभाड हुने ठाउँलाई विभाजन गरी टोली परिचालन गरेको जनाएको छ ।बजारको तुलनामा ग्रामिण क्षेत्रमा धेरै चहलपहल, मेलापर्वको आयोजना गरिने भएकाले पनि प्रहरी चौकी नभएका दुर्गम बस्तीमा समेत छड्के गस्ती सहित साधा पोशाकमा प्रहरी परिचालन गरिएको उनले बताए ।

पिकेट डिउटी, ग्रामिण गस्ती, ट्राफिक सहितको चेकजाँच,मोवाइल, सवारी तथा पैदल गस्ती लगाएतका योजना बनाइएको प्रनाउ बुढामगरको भनाई छ । चाडपर्वमा जिल्लाबाहिरबाट भित्रिनेबाट गैरकानुनी सामान समेत ओसारपोसार हुन सक्ने तथा अपराधिक गिरोह समेत सक्रिय हुने भएकाले प्रहरीले विशेष सुरक्षा योजना बनाइएको बताए । उनले स्थानीय तह तथा वडास्तरमा जनप्रतिनिधिहरूसंग सहकार्य गरी मेलापर्वमा अपराधिक घटना हुन नदिने गरी सुरक्षा योजना बनाइएको छ ।

म्याग्दी जोड्ने पर्वत, कास्की र बागलुङ नाकामा २४ घण्टा प्रहरीको निगरानी, छड्के चेकजाँच, सार्वजनिक सवारीसाधनमा कानुनले बर्जित गरेका समान ओसारपोसार हुनसक्ने भएकाले त्यसलाई समेत नियन्त्रण गर्न सादा पोसाकमा प्रहरी परिचालनलाई समेत प्राथमिकतामा राखिएको छ । जिल्लाका ग्रामिण बस्तीमा अझैपनि प्रहरीको सहज उपस्थिती नभएकालाई चौकीमार्फत जनप्रतिनिधिसंग समन्वय गरी सुरक्षा योजना सफल बनाउने प्रनाउ बुढामगरको भनाई छ । बजारका होटलहरुमा बास बस्नेहरुको रेकर्ड राख्न लगाउने, जुवातास, घरेलु मदिरा उत्पादन गर्ने ठाउँमा निगरानी गरिने प्रहरीले जनाएको छ ।

बेनी नगरपालिका, मंगला, मालिका, धवलागिरी, रघुगंगा, अन्नपूर्ण गाउँपालिकामा इलाका प्रहरी, प्रहरी चौकीबाट निरन्तर निगरानी नभएका स्थानमा समेत छड्के अनुगमन गरिने बताए । चाडपर्वमा बढी मेला हुने ग्रामीण क्षेत्रमा अपराधी नियन्त्रणका लागि ग्रामिण क्षेत्रमा रहेका प्रहरी चौकीबाट समेत नियमित निगरानी बढाइएको बताउँदै अपराधिक घटना न्यूनिकरणमा आम नागरिकबाट समेत सहयोगको अपेक्षा गरिएको प्रनाउ बुढामगरको भनाई छ ।

चोरी, डकैती, लुटपाट, अनियमित भाडा असुल्ने, ओभरलोड लगायतका थुप्रै घटनाहरु प्रहरीका सामु चुनौतीका रुपमा रहेका प्रहरीले जनाएको छ । यसैबीच प्र्रहरीले चालु आवको दुई महिनामा १४ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीले गत आवमा १२ जनालाई नियन्त्रणमा लिएको थियो। पत्रकार सम्मेलनमा पत्रकार महासंघका अध्यक्ष तारानाथ शर्मा, संस्थापक अध्यक्ष घनश्याम खड्का, पूर्व अध्यक्ष सुरत केसी लगाएतको उपस्थिती रहेको थियो ।